
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका ७ मा पर्ने मलास ।
प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको बस्ती कृषि, पर्यटन र पशुपालनका हिसाबले सम्भावनायुक्त छ । तर, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्जस्ता आधारभूत विकास पूर्वाधार अझै यो गाउँमा पुगेका छैनन् ।
पालिका केन्द्रसम्म पुग्नसमेत स्थानीयले घन्टाैँ पैदल हिँड्नुपर्ने बाध्यता छ ।
हालै मात्र मलाससम्म सडकको ट्र्याक खोलिएको छ । तर, जेठदेखि मङ्सिरसम्मै यो सडकमा गाडी चल्ने अवस्था छैन । वर्षातमा त झनै जोखिम । पहिरो, हिलो र बिग्रिएको बाटो छिचोल्दै यात्रा गर्नुपर्छ । करिब २० किलोमिटर पैदल हिँडेपछि मात्रै गाडी चल्ने बाटोमा पुगिन्छ । त्यसपछि बल्ल घुमाउरो बाटो हुँदै आफ्नै जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता ।
मलासमा स्वास्थ्य संस्था छ तर जनशक्ति र स्रोतसाधन पर्याप्त छैनन् । सवारीसाधन पुग्ने ठाउँसम्म बिरामीलाई स्ट्रेचरमा बोकेर हिँडाउनुपर्छ । गर्भवती तथा बिरामीलाई चार घन्टासम्म बोकेर महेन्द्रनगरसम्म पुर्याउनुपर्ने बाध्यता छ । समयमै अस्पताल पुग्न नसक्नु यहाँका लागि असुविधा मात्रै होइन, जोखिम पनि हो । बर्थिङ सेन्टर नहुँदा गर्भवतीलाई सुत्केरी गराउन गाउँबाहिर लैजानुपर्छ ।
मलासमा कक्षा १० सम्म मात्रै पढाइ हुन्छ । उच्चशिक्षा अध्ययन गर्न विद्यार्थीले गाउँ छाड्नुपर्छ । सडक सहज नहुँदा विद्यालय र कलेज पुग्न कठिन यात्रा गर्नुपर्छ । खानेपानीको लागि केही वर्ष अघिसम्म स्थानीयले घन्टाैँ हिँड्नुपर्थ्यो । अहिले लिफ्टमार्फत पानी तानेर पाइप बस्तीमा पुर्याइएको छ । तर, धारामा पानी नियमित आउँदैन ।
२०७४ देखि २०७९ सालसम्म लगाएर गाउँमा बिजुलीका पोल पुर्याइयो । २०७९ देखि २०८३ सालसम्म पोल गाडिए, तार तानिए । तर, अहिलेसम्म गाउँमा बिजुली बलेको छैन । माेबाइल नेटवर्क निक्कै कमजोर हुँदा सञ्चार सम्पर्कबाट पनि बिमुख हुनुपर्ने बाध्यता छ ।
मलासवासीका लागि सडक यातायातको पूर्वाधार मात्रै होइन । यही सडकले स्वास्थ्यसँग जोड्छ । यही सडकले विद्यार्थीलाई शिक्षासँग जोड्छ । यही सडकले किसानलाई बजारसँग जोड्छ तर उत्पादित वस्तु पनि सहजै बजार पुग्दैन । सडक भइदिएको भए गाउँको उत्पादनले बजार पहुँच पनि पाउँथ्यो ।
डडेलधुरा दशकौँदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा जोडिँदै आएको छ । पछिल्लो निर्वाचन अघिसम्म झन्डै चार दशक डडेलधुराबाट प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बनेर राष्ट्रिय राजनीतिको केन्द्रमा रहे । तर, मलासवासीका दिन जस्ताका तस्तै रहे ।
मलाससँग सम्भावना छैन भन्ने होइन । यहाँ कृषि छ, पशुपालन छ, पर्यटन छ, प्रकृति छ । तर, सम्भावनालाई अवसरमा बदल्ने पूर्वाधार छैन ।