पाल्पा-रसुवा । नुवाकोट-रसुवा जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर लामो बेलिब्रिज जडान गरिएको छ ।
नेपाली सेनाले आइतबारदेखि पुल सञ्चालनमासमेत ल्याएको छ । भदौ १० गतेको भोटेकोशी बाढीले पुल बगाएपछि फलाखु खोलामा बेलिब्रिज बनेपछि नुवाकोट हुँदै काठमाडौं जोड्ने छोटो दुरीको सडकसमेत सञ्चालमा आएको छ ।
बेलिब्रिज सञ्चालन भएपछि पूर्णरूपमा अवरुद्ध बनेको रसुवा–नुवाकोटबीचको सडक सम्पर्क पुनः जोडिने भएको छ भने चाडपर्वको समयमा सर्वसाधारणको यात्रासमेत सहज भएको छ ।
रसुवा र नुवाकोट जोड्ने बेत्रावतीस्थित फलाखु खोलाको पक्की पुल गत भदौ १० गतेको बाढीले बगाएको थियो । त्यसपछि रसुवा नुवाकोट हुँदै काठमाडौं आउजाउ सकसपूर्ण बनेको थियो । बेलिब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको स्याफ्रुबेंसी वारीसम्म सडक सञ्जाल पुनः जोडिएके छ ।
यसबाट बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनःस्थापना भई रसुवातर्फको यातायात आवागमन सहज बनेके छ । पुलको मुख्य संरचना जडान गर्ने काम सकिएर बाँकी प्राविधिक कामसमेत पूरा गरेर सवारीसाधन सञ्चालन गरिएको हो ।
बेत्रावती नुवाकोट र रसुवाबीच आवतजावत गर्ने महत्वपूर्ण स्थल हो । यहाँको पुल बाढीले बगाएपछि पासाङ ल्हामु राजमार्गको रसुवा खण्डमा आउजाउ रोकिएको थियो । विशेषगरी रसुवामा आवश्यक खाद्यान्न, निर्माण सामग्री तथा अन्य सामान ढुवानी गर्ने सवारीसाधनलाई पुल सञ्चालन नहुँदा कठिनाइ भएके थियो ।
यातायात सहज नहुँदा स्थानीय व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत असर पर्दै आएको स्थानीय बताउँछन् । फलाखु खोलामा बेलिब्रिज सञ्चालनमा आएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क सहज मात्र नभइ आमाछेदिङगो गाउँपालिकाबाहेक रसुवाका उत्तरगया, कालिका, गोसाइँकुण्ड, नौकुण्ड गाउँपालिकाका बासिन्दालाई धेरै सहज भएको छ ।
भेटेकेशी बाढीपछि पुलबाट सवारी साधन सञ्चालन हुने प्रतीक्षामा रहेका स्थानीय बासिन्दा नेपाली सेनाले बेलिब्रिज निर्माण कार्य सकेसँगै खुसी नहुने कुरै भएन । भार परीक्षणलगायतका आवश्यक प्राविधिक काम पूरा भएपछि पुल सञ्चालनमा आएको हो । बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्नसक्ने अवस्था थिएन ।
मनिष अर्याल र माधव अर्यालकाे रिपार्ट