
काठमाडौं । आइतबारदेखि बडादशैँ सुरु भएको छ ।
दशैँको पहिलो दिन आइतबार घटस्थापना गरिएको छ । घटस्थापना अर्थात् घरघरमा जमरा राखी वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गर्ने दिन । आइतबार बिहानै नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा विधिपूर्वक घट अर्थात् घैँटो स्थापना गरी जौ, मकै र गहुँको जमरा छरिएको छ । यही जमरा विजयादशमीका दिन टीकासँगै सिउरिने गरिन्छ ।
आइतबारदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ गरी नवदुर्गाको आराधना गर्ने गरिन्छ ।
नवरात्रिमा पुजिने यी नवदुर्गा को को हुन् त ? अनि काठमाडौँका कुन–कुन शक्तिपीठमा पूजा हुन्छ त ?
पहिलो दिन घटस्थापना : शैलपुत्रीको पूजा
दशैंको पहिलो दिन, घटस्थापना। घरघरमा जमरा राखेर र कलश स्थापना गरी देवी दुर्गाको आह्वानसँगै बडादशैंको विधिवत् सुरुवात गरिन्छ। दशैंघर तथा पूजाकोठामा जौ, मकैजस्ता अन्न छरेर जमरा उमार्ने परम्परा छ। काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा पनि विधिपूर्वक जमरा राखिन्छ।
घटस्थापनादेखि नवमीसम्म दुर्गा भवानीको पूजा–आराधना, प्रार्थना र दुर्गासप्तशती अर्थात् चण्डीपाठ गरिन्छ। यही नौ दिनलाई नवरात्रि भनिन्छ। नवरात्रिको पहिलो दिन नवदुर्गाको पहिलो स्वरूप शैलपुत्रीको पूजा गरिन्छ। शैलपुत्रीलाई हिमालयकी पुत्री पार्वतीकै एक स्वरूप मानिन्छ। शक्ति, सौभाग्य र समृद्धिकी प्रतीकका रूपमा उनको आराधना गर्ने धार्मिक विश्वास छ। यस दिन काठमाडौंको शङ्खमूलस्थित चामुण्डा भगवती मन्दिरमा मेला लाग्छ।
दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा
नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। तपस्या, साधना, ज्ञान र विवेककी प्रतीक ब्रह्मचारिणीलाई भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गर्ने देवीका रूपमा धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। यस दिन काठमाडौंको विष्णुमती नदी किनारस्थित शोभा भगवती मन्दिरमा मेला लाग्छ। दुःखबाट मुक्ति, शान्ति र कल्याणको कामना गर्दै भक्तजनले भगवतीको पूजा–आराधना गर्छन्।
तेस्रो दिन : चन्द्रघण्टाको उपासना
तेस्रो दिन नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको उपासना गरिन्छ। चन्द्रघण्टालाई साहस, शक्ति र दुष्ट शक्तिको विनाश गर्ने देवीका रूपमा लिइन्छ। महिषासुरसँगको युद्धमा देवताहरूलाई अभय प्रदान गर्ने देवीका रूपमा समेत उनको महिमा वर्णन गरिएको छ। चन्द्रघण्टाको आराधना गर्दा भय र कष्टबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। यस दिन गोकर्णको रुद्रायणी मन्दिरमा ठूलो मेला लाग्छ।
चौथो दिन : कुष्माण्डा देवीको पूजा
नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिन्छ। ब्रह्माण्डको सृष्टिसँग जोडिएकी देवी कुष्माण्डालाई सूर्यजस्तै तेजस्वी र अष्टभुजा स्वरूपमा वर्णन गरिएको छ। उनका आठ हातमा कमण्डलु, धनुष, बाण, कमल, अमृतपूर्ण कलश, चक्र, गदा र जपमाला रहेको धार्मिक मान्यता छ।
कुष्माण्डा देवीको पूजा गर्दा आयु, यश, बल र आरोग्य प्राप्त हुने विश्वास गरिन्छ। यस दिन काठमाडौंको कालिकास्थानस्थित कुष्माण्डा देवीको मन्दिर र कालमोचन घाट थापाथलीको डोला अजिमामा पनि मेला लाग्छ। यस देवीको पूजामा कुभिण्डोको बलि दिने परम्परासमेत छ।
पाँचौँ दिन : स्कन्दमाताको पूजा
पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। काखमा बालक स्कन्दलाई राखेकी मातृस्वरूपा देवीलाई स्नेह, ममता र वात्सल्यकी प्रतीक मानिन्छ। स्कन्दमाताको आराधना गर्दा पारिवारिक प्रेम र सम्बन्ध सुमधुर हुने विश्वास गरिन्छ। यस दिन काठमाडौंको पचली भैरवमा रहेको भवानीको मन्दिरमा मेला लाग्छ छ। यसै दिन गुहेश्वरी मन्दिरमा पनि मेला लाग्छ ।
छैटौँ दिन : कात्यायनी भगवतीको पूजा
नवरात्रिको छैटौँ दिन कात्यायनी भगवतीको पूजा–आराधना गरिन्छ। कात्यायन ऋषिको तपस्याबाट प्रसन्न भई उनकी पुत्रीका रूपमा प्रकट भएकी देवी भएकाले उनको नाम कात्यायनी रहन गएको पौराणिक मान्यता छ। महिषासुरको वध गर्ने देवीका रूपमा समेत कात्यायनीको महिमा वर्णन गरिएको छ।
उनलाई साहस, पराक्रम र दुष्ट शक्तिमाथि विजयको प्रतीक मानिन्छ। कात्यायनीको पूजा गर्दा रोग, शोक, भय र दुःखबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। यस दिन काठमाडौंको दरबार क्षेत्रमा रहेको श्वेतकाली मन्दिरमा मेला लाग्छ। यसैगरी टोखाको इण्द्रायणी मन्दिरमा पनि मेला लाग्छ ।
सातौँ दिन : कालरात्रि देवीको पूजा, फूलपाती भित्र्याउने दिन
सातौँ दिन कालरात्रि देवीको पूजा गरिन्छ। कालरात्रि नवदुर्गाको उग्र र शक्तिशाली स्वरूप हो। दुष्ट, दानव र आसुरी शक्तिको विनाश गर्ने देवीका रूपमा उनको आराधना गरिन्छ। कालरात्रिको उपासनाले भय र नकारात्मक शक्तिबाट रक्षा हुने धार्मिक विश्वास छ। यस दिन पशुपतिमा रहेको वच्छलादेवी मन्दिरमा मेला लाग्छ ।
यसै दिन फूलपाती भित्र्याउने परम्परा पनि छ। नेपालीहरूको घरघरमा फूलपाती भित्र्याएर दशैंको विशेष उत्सव मनाइन्छ। नेपाल एकीकरण भएदेखि नै गोरखाबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा भित्र्याउने परम्परा रहँदै आएको छ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर समुदायका छ जना पुजारीले फूलपाती ल्याइन्छ र जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंका ब्राह्मण पुजारीले ल्याउने परम्परा छ। फूलपातीको दिन काठमाडौंको शोभा भगवती मन्दिरमा पनि मेला लाग्छ।
आठौँ दिन : महाअष्टमीमा महाकाली, महालक्ष्मी र महादुर्गालगायत देवीको विशेष पूजा
नवरात्रिको आठौँ दिन महाअष्टमी। यस दिन महाकाली, महालक्ष्मी र महादुर्गालगायत देवीका विभिन्न स्वरूपको विशेष पूजा–आराधना गरिन्छ। महिषासुरमाथि देवीले विजय प्राप्त गरेको धार्मिक मान्यतासँग जोडिएको यस दिन दुर्गा भवानीको शक्तिको प्रतीकका रूपमा बलिपूजा गर्ने परम्परा पनि छ।
घरघरका दशैंघर, पूजाकोठा र मन्दिरमा विशेष विधिपूर्वक पूजा गरिन्छ। यस दिन काठमाडौंको दक्षिणकालीस्थित दक्षिणकाली मन्दिर तथा रक्तकाली मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।
नवौँ दिन : महानवमीमा नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको पूजा
नवरात्रिको नवौँ दिन महानवमी। यस दिन नवदुर्गाको अन्तिम स्वरूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। सिद्धि अर्थात् विशेष शक्ति र सफलता प्रदान गर्ने देवीका रूपमा सिद्धिदात्रीको उपासना गरिन्छ। विधिपूर्वक देवीको आराधना गर्दा मनोकामना पूरा हुने र सिद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
यस दिन काठमाडौंको हनुमानढोका दरबार परिसरस्थित भूवनेश्वर र तलेजु भवानीको मन्दिरमा विशेष पूजा गरिन्छ। वर्षमा एकपटक मात्र सर्वसाधारणका लागि खुल्ने तलेजु मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ।
दशौं दिन : विजया दशमी
नवरात्रिका नौ दिन देवीका विभिन्न स्वरूपको पूजा–आराधना गरेपछि आउँछ, विजयादशमी अर्थात् बडादशैंको मुख्य दिन। यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइन्छ। भगवान् श्रीरामले रावणमाथि र देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक मान्यतासँग जोडिएको विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक मानिन्छ।
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र दीर्घायु प्राप्त हुने जनविश्वास छ। परिवारका सदस्यसँगै आफन्त र कुलकुटुम्ब कहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने परम्परा छ। टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म पाँच दिन चल्छ भने नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन पनि छ।
यसरी घटस्थापनाबाट सुरु हुने नवरात्रि देवीको आराधना, शक्तिपीठको दर्शन र विभिन्न धार्मिक परम्परासँग जोडिएको छ। आस्था, श्रद्धा, पारिवारिक मिलन र सांस्कृतिक निरन्तरताको पर्व बडादशैंले सत्यको विजय र सद्भावको सन्देशसमेत दिन्छ।