चर्चाका तीन पात्र : हर्क, रेशम र रञ्जिता !

काठमाडौंमा हर्कको हस्याङ फस्याङ, रेशम-रञ्जिताको लफडा
चैत्र २०, २०८० |विकास आचार्य
चर्चाका तीन पात्र : हर्क, रेशम र रञ्जिता !

काठमाडौं । तीनजना पात्र आज चर्चामा रहे । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरी । अनि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ ।

सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादले नागरिक उन्मुक्ति पार्टीमा मात्रै झगडा निम्त्याएको छैन, श्रीमान र श्रीमति रहेका रेशम र रञ्जिताबीचमा दरार पैदा भएको छ । हिजो पार्टीको बैठकमा हात हालाहाल सम्मको स्थिति उत्पन्न भएपछि आज दुईका आ-आफ्नै बैठक र वक्तव्यबाजी दिनैभरि चल्यो ।

अब पार्टीको अध्यक्ष को हो भन्नेसम्मको विवाद छ ।

उता धरानमा मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । बजेट माग्न उनी दिनैभरि सिंहदरबारमा मन्त्रालय चहार्दै थिए । आज हामीले उनलाई पनि पछ्याएका छौं ।

पहिले नागरिक उन्मुक्ति पार्टीको कुरा गरौं ।

नागरिक उन्मुक्ति पार्टीभित्रको विवादलाई लिएर पार्टी संस्थापक रेशमले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरे । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा चौधरीले आफू नै पार्टीको अध्यक्ष भएको दाबी गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले मिलेर जान आग्रह गरेको चौधरीले बताए ।

पार्टीको विवाद सामान्य भए पनि सत्तारुढ गठबन्धनकै केही नेताहरुले विवादित बनाएको र आफ्ना केही कार्यकर्ता त्यसको पछि लागेको उनको गुनासो थियो । चौधरीले सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसमेत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

उता अध्यक्ष रञ्जिताले भने रेशमविरुद्ध विज्ञप्ति जारी गरेकी छन् । चैत २३ र २४ गते केन्द्रीय सदस्य र पदाधिकारीको बैठक नबोलाइएको विज्ञप्तिमा भनिएको छ । रेशमले सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने भनेका छन् भने रञ्जिताले नदिने भन्दै, यदि विश्वासको मत दिएमा कारबाही गर्ने चेतावनी दिएकी छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेकैबेला अध्यक्ष रञ्जिता पार्टीको काम भन्दै पोखरा पुगेकी छन् । रेशम धनगढी लागेका छन् । हिजो मात्र पार्टी कार्यालय अनमनगरमा भएको बैठकमा दुइपक्षबीच कुटाकुट भएको थियो । त्यसपछि अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरेर गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गर्दै पार्टीबाट निष्कासन गरेकी छन् । दुवैलाई पत्र लेखी रञ्जिताले कारबाही गरिएको जनाएकी थिइन् ।

पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्रीले देखाएको चासोलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । सत्ता गठबन्धनका लागि नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त गर्ने लोभ पनि प्रधानमन्त्रीलाई छ । यसका लागि उनले उन्मुक्तिभित्रको विवाद मिलोस् भन्ने चाहेका छन् तर विवाद नमिलेको खण्डमा पार्टी फुटाउनसमेत उनले सघाउन सक्छन् । रेशमको आजको अभिव्यक्तिले त्यतातर्फ पनि संकेत गरेको छ ।

अब कुरा गरौं हर्क साम्पाङको । धरानमा मेयर साम्पाङ सधैं चर्चामा रहने पात्र हुन् । उनै हर्क साम्पाङ आफ्नो उपमहानगरका लागि बजेट माग्न भन्दै सिंहदरबार धाइरहेका छन् । आज दिनैभरि उनले विभिन्न मन्त्रालय धाउँदै मन्त्रीहरु भेटे, आफ्ना कुरा राखे । हामीसँगको कुराकानीमा हर्क साम्पाङको भनाइ थियो, मन्त्रीहरुलाई नमस्ते भन्दाभन्दै हैरान भइयो ।

प्रस्तुत दुवै सन्दर्भले देखाउँछ, हामीले अभ्यास गरिरहेको संघीयतामा कमजोरी छ । व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि प्रदेश र स्थानीय सरकारहरुलाई सबल बनाउनुपर्नेछ । संघीय राजनीति र संघीय सरकारको छायाले प्रदेशको राजनीति र प्रदेश सरकार स्थिर भइरहेको छैन भन्ने ज्वलन्त उदाहरण हो, नागरिक उन्मुक्ति पार्टीको विवाद । स्थानीय सरकारलाई दिनुपर्ने अधिकार, जिम्मेवारी र बजेट तीनवटै कुराका लागि संघीय सरकार गम्भीर र तत्पर हुनुपर्छ भन्ने सन्देश यी हर्क साम्पाङको दौडधूपको सन्देश हो ।

यो पनि...

हर्क साम्पाङको सिंहदरबारमा ३ दिन, मन्त्रीलाई नमस्ते गरेर फर्किए

६-६ महिनामा नयाँ मन्त्रीलाई नमस्ते गर्न आउँदा दुःख पाइयो : हर्क साम्पाङ

रेशम चौधरीको प्रश्न- प्रधानमन्त्रीज्यू, कस्तो तागत दिनुभयो, सुटर ल्याउँछु भन्छन् त ?

चैत २३ र २४ गते बोलाइएको पार्टीको बैठक आधिकारिक होइन : रञ्जिता श्रेष्ठ

फुटको संघारमा नागरिक उन्मुक्ति, चर्कियो आन्तरिक विवाद

नाउपामा चुलियो विवाद : केन्द्रीय कार्यालयमै कुटाकुट, संस्थापक रेशम भन्छन्- पार्टी कसैको पेवा होइन

नागरिक उन्मुक्तिमा हात हालाहालदेखि पार्टीबाट निष्कासनसम्म


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।