
काठमाडौं । भन्न त कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको थियो। तर साढे ५ महिनापछि स्वदेश फर्किँदा उहाँले कांग्रेसको उपचार गर्न नेपाल आएको दुर्लभ डाक्टरले पाउने जस्तो स्वागत पाउनुभयो। फागुन १३ गते सिंगापुर पुगेका देउवा बिहीबार थाई एयरको विमानमार्फत करिब साढे १२ बजे स्वदेश फर्किनुभएको हो । देउवा पत्नी आरजू भने फर्किनुभएन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न समर्थकको ठूलै भीड पहिल्यै जम्मा भएको थियो ।
विमानस्थलभित्रै पुगेर पूर्वउपसभापति पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधिलगायत नेताहरूले देउवालाई स्वागत गरेका थिए ।
गेटबाहिर समर्थकहरूले खादा–माला, बाजागाजा र ब्यानरसहित उनको स्वागत गर्दै नाराबाजी गरे।
देउवाको स्वागतमा उपस्थितहरुको उत्साहको एउटै कारण थियो - विभाजनउन्मुख पार्टीभित्रको एकतामा देउवाको निर्णायक भूमिका हुने अपेक्षा ।
नेता–कार्यकर्ता र समर्थकहरूको नाराबाजीका बीच सुरक्षाकर्मीले स्कर्टिङ गर्दै देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुनदेवीस्थित कांग्रेस असन्तुष्ट समूहको सम्पर्क कार्यालय पुर्याएका थिए । त्यहाँ कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको भन्दै आफूलाई अरूले हटाउन नसक्ने दाबी गर्नुभयो।
अब जेनजी आन्दोलनका क्रममा आगजनि र तोडफोड भएको देउवा निबास होइन, देउवा महाराजगंज चुनदेवीमा भाडाको घरमा बस्नुहुनेछ।
यता सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार सभापति गगन थापाले बैठक सुरुमै पूर्वसभापति देउवालाई स्वदेशमा स्वागत गर्नुभयो। प्रवक्ता देवराज चालिसेले पनि पूर्वसभापति देउवालाई स्वदेशमा स्वागत गरेको प्रतिक्रिया दिनुभएको छ ।
कांग्रेसको संस्थापन इतर समूहले शुक्रबारदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। देउवाले समेत भेलामा सम्बोधन गर्ने तालिका छ । त्यसैले पनि देउवाको स्वदेश फिर्तीलाई कांग्रेसको एकताको भविष्य निर्धारक मानिएको छ। तर विमानस्थलमा देउवा समर्थकले देखाएको उत्साह कति समय टिक्छ ? हेर्न बाँकी छ।