फुटको संघारमा नागरिक उन्मुक्ति, चर्कियो आन्तरिक विवाद

प्रधानमन्त्रीले पनि देखाए चासो
चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
फुटको संघारमा नागरिक उन्मुक्ति, चर्कियो आन्तरिक विवाद

काठमाडौं । संघीय सरकार र सुदूरपश्चिम सरकारको विषयमा आन्तरिक विवाद चर्कँदै जाँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा) फुटको संघारमा पुगेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक रेशम चौधरीबीचको विवाद उत्कर्षमा पुगेपछि नाउपालाई गठबन्धनमै सहमत गराउन प्रधामनमन्त्री पुष्पकमल दाहालले पनि चासो बढाएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्किएसँगै नाउपा अध्यक्ष श्रेष्ठ एमालेसहितको नयाँ समीकरणका पक्षमा उभिएकी छन् भने संस्थापक चौधरी प्रदेशमा अघिल्लै गठबन्धनको समर्थनमा छन् । अध्यक्ष श्रेष्ठ र संस्थापक चौधरी श्रीमान्-श्रीमति हुन् । यी दुईबीच विवाद चुलिँदै जाँदा प्रधानमन्त्री दाहालले आज दुवैलाई अलग-अलग बोलाएर छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले दुवैलाई मिलेर जान र नयाँ सत्ता समीकरणलाई सघाउन भनेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि चौधरीले पार्टीभित्रको विषयमा सरकारले चलखेल गरेको भन्दै आफ्नो अडान कायमै रहेको बताए । पार्टीभित्रको विवादबारे चैत २३ र २४ गते बस्ने बैठकले निर्णय गर्ने चौधरीको भनाइ छ ।

तर अध्यक्ष श्रेष्ठले चौधरीको निर्णयविरुद्ध विज्ञप्ति जारी गर्दै चैत २३ र २४ गते केन्द्रीय सदस्य र पदाधिकारीको बैठक नबोलाइएको बताएकी छन् । उनले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने चेतावनी आफ्नो दलका प्रदेश सभा सदस्यलाई दिएकी छन् । चौधरीले भने सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने भनेका छन् ।

विवाद उत्कर्षमा पुगेकैबेला अध्यक्ष श्रेष्ठ पार्टीको काम भन्दै पोखरा पुगेकी छिन् । चौधरी धनगढीतर्फ लागेका छन् । हिजो मात्र पार्टी कार्यालय अनामनगरमा भएको बैठकमा दुई पक्षबीच कुटाकुट भएको खबर बाहिरिएको थियो । त्यसपछि अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जनलाई पार्टीबाट निष्कासन गरेको विज्ञप्ति निकालेकी थिइन् ।

यो पनि...

रेशम चौधरीको प्रश्न- प्रधानमन्त्रीज्यू, कस्तो तागत दिनुभयो, सुटर ल्याउँछु भन्छन् त ?

चैत २३ र २४ गते बोलाइएको पार्टीको बैठक आधिकारिक होइन : रञ्जिता श्रेष्ठ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.