सुदूरपश्चिमको बुढी पोल्ने पर्व : मौलिक परम्परा लोप हुने चिन्ता

आश्विन १, २०८३ |हरिश्चन्द्र बाग
सुदूरपश्चिमको बुढी पोल्ने पर्व : मौलिक परम्परा लोप हुने चिन्ता

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी समुदायले बिहीबार बुढी पोल्ने पर्व मनाएका छन् । असोज सङ्क्रान्तिका दिन मनाइने यो पर्व धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको छ । तर पछिल्लो समय पर्वसँग जोडिएका कतिपय मौलिक परम्परा भने हराउँदै गएका छन् । 

“द्वापर युगको धार्मिक कथासँग जोडिएको बुढी पोल्ने अर्थात् बुन्ढुनी पर्वको सुरुवातबारे एउटा रोचक मान्यता छ । कंशको आदेशमा राक्षसी पुतना बालक श्रीकृष्णलाई विषाक्त दूध खुवाएर मार्न आएकी थिइन् । तर कृष्णले उल्टै पुतनाको स्तन चुसेर उनको वध गरे । त्यही घटनापछि कृष्ण बाँचेको खुसीयालीमा पुतना दहन गर्दै बुढी पोल्ने परम्परा सुरु भएको सुदूरपश्चिममा धार्मिक विश्वास रहँदै आएको छ ।”

त्यही धार्मिक विश्वास र परम्परालाई पछ्याउँदै सुदूरपश्चिमका पहाडी बस्तीमा हरेक वर्ष असोज सङ्क्रान्तिका दिन बुढी पोल्ने गरिन्छ । यसका लागि भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझ, निङ्गालोलगायतका हाँगाबिँगा काटेर बुढी बनाउने चलन छ । असोज सङ्क्रान्तिको साँझ प्रत्येक घरबाट काँस, अम्रिसोलगायत पाँच जातका घाँसले राँको बनाइन्छ । राँको बोकेर स्थानीयहरू बुढी पोल्ने स्थानमा पुग्छन् । आकाशमा तारा देखिएपछि मात्रै बुढी अर्थात् पुतनाको प्रतीक जलाउने परम्परा छ ।

बुढी पोलेपछि त्यसको खरानी गाईवस्तुलाई तिलक लगाउने चलन छ । यसो गर्दा पशुचौपायालाई रोग नलाग्ने जनविश्वास रहँदै आएको छ ।

कतिपय ठाउँमा बुढी जलाउँदा काँक्रो चपाउँदै ‘थु बुढी, थु थु’ भन्दै थुक्ने चलनसमेत छ । यसलाई लुतो तथा रोगव्याधि फाल्ने सांकेतिक परम्पराका रूपमा लिइन्छ ।

“बुढी पोल्ने पर्वसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष हो, लोकसंस्कृति । कुनै समय यही पर्वको अवसरमा गाउँगाउँमा रातभर देउडा खेलिन्थ्यो । तर अहिले पर्व मनाउने शैलीसँगै देउडा खेल्ने त्यो मौलिक चलन पनि धेरै ठाउँमा हराउँदै गएको छ ।”

सुदूरपश्चिमका पहाडी जिल्लामा विशेष प्राथमिकता साथ मनाइने यो पर्व छिमेकी मुलुक भारतको कुमाउँ, गढवाल क्षेत्रमा समेत प्रचलित छ । तर पुस्तान्तरण कमजोर हुँदै जाँदा पर्वसँग जोडिएका कतिपय मौलिक अभ्यास हराउँदै गएको संस्कृतिका जानकारहरूको चिन्ता छ ।

धार्मिक आस्था र पुस्तौँदेखिको लोकपरम्परासँग जोडिएको बुढी पोल्ने पर्वको संरक्षणसँगै यसमा जोडिएको देउडा र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने देखिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।