सनातन धर्मबारे देउवा समूहको प्रस्तावले कांग्रेसका दुवै समूहमा हलचल

देउवा समूहमै मतभेद
भाद्र १, २०८३ |प्रकाश बम
सनातन धर्मबारे देउवा समूहको प्रस्तावले कांग्रेसका दुवै समूहमा हलचल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षीय समूहको भेलामा हिन्दु धर्म र सनातन धर्मबारे राखेको अभिव्यक्तिले त्यही समूहभित्र हलचल ल्याएको छ । 

देउवाकै नेतृत्वमा भएको सम्मेलनले सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीतिगत प्रस्ताव नै पारित गरेपछि यसको थप बहस सुरु गरेको छ। यसले देउवा पक्षको समूहको राजनीतिक र वैचारिक दृष्टिकोणबारे त प्रश्न उठेको छ नै, यसले यो समूहमा केही मतभेद पनि सिर्जना गरेको छ। तर, यसलाई कतिपयले भने कांग्रेसभित्र यसअघि पटकपटक उठ्ने गरेको सनातन धर्मका विषय उठ्ने गरको बहसलाई महत्वपूर्ण डिपार्चरका रुपमा समेत अर्थ्याइएको छ।

नेपाली कांग्रेसको राष्ट्रिय भेलाले गरेका पाँचवटा निर्णयमध्ये तेस्रो बुँदामा भनिएको छ- नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्‍भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ ।

नेताहरु यसलाई कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएको रुपमा बुझ्न सकिने बताइरहेका छन् । यो पक्षका नेताहरु अब १५औं महाधिवेशन र संविधान संशोधनका बेला समेत यसलाई अघि बढाउने बताइरहेका छन् । राष्ट्रिय सम्मेलनमा पारित प्रस्ताव र प्राप्त सुझावलाई परिमार्जनसहित लिखित रूप दिन नेता एनपी साउदको नेतृत्वमा समिति गठन गरिएको छ । 

साउदले हिन्दुसहितको सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने विषयमा संवाद अगाडि बढाउने बताउनु भएको छ । उहाँका अनुसार देउवा समूह धर्म निरपेक्षताप्रतिको प्रतिबद्धताभन्दा धार्मिक स्वतन्त्रताको पक्षमा उभिएको हो । देउवा सभापति रहेकै बेला कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा आवाज उठे पनि पार्टीले त्यसलाई औपचारिक बहसको विषय समेत बनाएको थिएन। 

२०८० फागुनमा सम्पन्न महासमिति बैठकमा समेत १ हजार ७ जना महासमिति सदस्यले शंकर भण्डारीको नेतृत्वमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरी पार्टी नेतृत्वलाई बुझाएका थिए । त्यसमा अहिले देउवा समूहको कमान्ड सम्हालिरहेका शशांक कोइरालाको समेत हस्ताक्षर थियो । तर, अहिले कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेका बेला देउवा समूहले राष्ट्रिय सम्मेलनबाट सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ । 

यसले देउवा समूहको आगामी राजनीतिक रणनीतिबारे पनि कौतूहलता बढाएको छ । यो समूह कांग्रेसको मूलधारमै रहने कि अलग राजनीतिक पहिचान बनाउने भन्ने अन्योल कायमै छ। यहीबीच हिन्दु धर्मको मुद्दालाई अघि सारेर परम्परागत हिन्दु मतदातासँग जोडिने र आफ्नो राजनीतिक स्पेस सिर्जना गर्ने रणनीति हुनसक्ने कतिपयको विश्लेषण छ ।

उसो त यो विषयमा समूहभित्रै मतभेद छ । निर्णय सार्वजनिक गर्दैगर्दा नेता विमलेन्द्र निधिले संविधानमा रहेको धर्म निरपेक्षतालाई नै यथावत् राखेर अगाडि बढाउनु पर्ने मत राख्नुभएको थियो । देउवा पक्षको भेलाका प्रचार प्रमुख मिन विश्वकर्माले सामाजिक सञ्जालमा लेखेको यो स्ट्याटस ले पनि मतभेद तिव्र हो भन्ने पुष्टि हुन्छ। 

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने भन्ने प्रस्तावमै विश्वकर्माले असहमति प्रकट गर्नुभएको थियो। असहमतिकै बाबजुद देउवाकै पहलमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रस्ताव पारित गरियो । स्वयम् देउवाले आफू हिन्दु रहेको कुरा जोडतोडका साथ राखेपछि यसले पनि केही चासो जन्माएको छ । 

यता संस्थापन पक्षले भने पार्टीले नचिनेको भेलाले गरेका निर्णय कांग्रेसका आधिकारिक दस्ताबेज हुन नसक्ने भनेको छ । २०७२ मा कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरिएको थियो। अहिले सरकारले संविधान संशोधनको बहस अघि बढाइरहेका बेला यो प्रस्ताव आउनुले विषयलाई अझ पेचिलो बनाएको छ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।