हर्क साम्पाङको सिंहदरबारमा ३ दिन, मन्त्रीलाई नमस्ते गरेर फर्किए

चैत्र २०, २०८० |विकास आचार्य
हर्क साम्पाङको सिंहदरबारमा ३ दिन, मन्त्रीलाई नमस्ते गरेर फर्किए

काठमाडौं । धरान उपमहानगर प्रमुख हर्क साम्पाङ यो साता काठमाडौं दौडाहामा थिए । धरान बसेर जनताको सेवा गर्नुपर्ने मेयर किन सिहंदरबार दौडाहामा ? हामीले उनलाई प्रश्न गर्यौं ।

उनले भने- ‘संघीयता भनेर के गर्नु, बजेट र योजना माग्न सिंहदरबार धाउनैपर्छ ।’ संघीयता कार्यान्वयनमा आएको ६ वर्ष पुगिसकेको छ । तर संघमा नयाँ आर्थिक वर्षका लागि योजना छनोट र बजेट निर्माणको तयारी सुरु भएपछि साम्पाङकै शब्दमा भन्दा ‘मन्त्रीलाई नमस्ते गर्न नआए बजेट र योजना नै पर्दैन ।’

हामी सिंहदरबार पुग्दा हर्क साम्पाङ सहरी विकासमन्त्री धनबहादुर बुढाको कार्यकक्ष अघि मन्त्रीलाई कुरिरहेका थिए । यतिबेला बिहानको ठीक ११ बजेको थियो । हामीसँग भेट भएको आधा घण्टामा मन्त्री बुढाले भेट्न समय दिए, जहाँ उनले धरानको ढल, सिटी प्लानिङजस्ता आधा दर्जन योजनालाई बजेट छुट्याउन आग्रह गरे । मन्त्रीसँग करिब २५ मिनेट बिताएपछि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ लागे । हामी पछ्याइरहेका थियौं ।

भौतिकमा पनि उनले मन्त्री रघुवीर महासेठको कार्यकक्षबाहिर केही समय कुरे । केहि समयपछि मन्त्री स्वयं साम्पाङलाई लिन आए र बैठक कक्षमा लिएर गए । महासेठसँग पनि उनले धरानका सडक र यातायातका समस्याबारे ध्यानाकर्षण गराउँदै योजना माग गरे । साम्पाङ मन्त्रीसँग गफिँदै गर्दा म्याग्दीका पालिकाभरिका जनप्रतिनिधिको टोली मन्त्रीलाई भेट्न पर्खिरहेको थियो ।

मेयर साम्पाङको मंगलबारको सिंहदरबार दौडाहा यतिमा मात्रै सीमित थिएन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, खानेपानीमन्त्री राजेन्द्र राई र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसँग पनि भेट गरे । सोमबार उनले गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरे । सबैसँगको भेटमा उनको कुरा एउटै थियो-धरानका लागि उनले तयार पारेका योजनाहरुमा बजेट विनियोजनको माग ।

तीन दिन सिंहदरबार चहारेपछि साम्पाङ मंगलबार धरान फर्किए । पालिकाका लागि बजेट माग्न धाउँदा धाउँदा हत्तु हैरान भएका उनले हामीसँगको भेटमा नाम मात्रैको संघीयता आएको भन्दै दुखेसो पोखे । संघीयतामा संघ सरकारले नै योजना छनोट गरी बजेट दिने भएकाले मन्त्रीलाई नमस्ते गर्न काठमाडौं आएको भन्दै उनले व्यांग्यसमेत गरे ।

संघीयता आएको ६ वर्ष बितिसके पनि त्यसलाई कार्यान्वयन गर्ने कानुन अझै बनेका छैनन् । संरचनामा तीन तह छन्, तर प्रदेश र स्थानीय तहले अझै संघकै मुख ताक्नुपर्ने अवस्था छ । यसरी जनप्रतिनिधि सिंहदरबार धाएर कहिलेसम्म योजना माग गर्ने ? कल्पना गरौं त देशभरका ७५३ नै स्थानीय तहका जनप्रतिनिधि एकै दिन सिंहदरबार आए भने के होला ?

यो पनि...

६-६ महिनामा नयाँ मन्त्रीलाई नमस्ते गर्न आउँदा दुःख पाइयो : हर्क साम्पाङ


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।