देउवाको विदेश बसाइका ५ महिनामा के-के भए यता ?

श्रावण २८, २०८३ |कान्तिपुर टीभी संवाददाता
देउवाको विदेश बसाइका ५ महिनामा के-के भए यता ?

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर र हङकङमा ५ महिना रहँदा यसबीचमा धेरै घटनाक्रम भए । आन्तरिक विवाद बढ्दै जाँदा कांग्रेस फुटको डिलैमा पुगेको छ भने उहाँमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान पनि जारी छ। सम्पत्ति रोक्का र विदेशी मुद्दा सटही नलिएको अवस्थामा लामो विदेश बसाइको खर्चबारे पनि प्रश्न उठिरहेका छन् । देउवा कुन अवस्थामा सिंगापुर उड्नु भएको थियो र यसअवधिमा के-के भए ?

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस्तो स्थितिमा विदेशिनु भएको थियो-जतिबेला उहाँ विशेष महाधिवेशनमार्फत् पार्टी सभापतिबाट हटाइनु भएको थियो र पार्टीको नयाँ नेतृत्वले चुनावमा टिकट पनि दिएको थिएन । अर्थात् दशकौं सत्ता र पार्टी राजनीतिको केन्द्रमा रहनुभएका देउवा केही महिनाकै अन्तरालमा एकाएक शक्तिहीन हुनुभएको थियो र पार्टी राजनीतिमै एक किसिमले किनारीकृत लगाइनु भएको थियो। अझ फागुन २१ को निर्वाचनमा कांग्रेसले लजास्पद हार बेहोरेको थियो।

लोकतन्त्रको लामो लडाइँ लड्नुभएका उहाँका लागि फागुन २१ मा हुने चुनाव र मतदानको अधिकारले पनि कुनै अर्थ राखेन । अर्थात् उहाँ चुनावको मुखैमा फागुन १२ गते स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर जानुभयो । देउवापत्नी आरजु भने काठमाडौंबाट दिल्ली हुँदै सिंगापुर पुग्नुभयो ।

देउवा विदेशिनुअघि उहाँमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भइसकेको थियो भने अनुसन्धानका क्रममा देउवा दम्पत्ति तथा परिवारका सदस्यका नाममा रहेका चल-अचल सम्पत्ति र बैंक खाता रोक्का गरिसकिएको थियो ।

निर्वाचनपछि बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि देउवादम्पत्तिमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढ्यो । २३ चैतमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी जारीको मागसहित जिल्ला अदालत काठमाडौंसँग अनुरोध गरेको थियो। त्यसको भोलिपल्ट २४ चैतमा जिल्ला अदालतबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यसबारे समाचार बाहिरिएपछि देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत २५ चैतमा असन्तुष्टि जनाउँदै कुनै भ्रष्टाचार नगरेको र आफ्नो जीवन खुला किताबका रूपमा रहेको उल्लेख गर्नुभएको थियो ।

२५ चैतमा देउवाले फेसबुक पोस्टमार्फत ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु, वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ, अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,’ भन्नुभएको थियो।

यता, विभागले विदेशमा भएका देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो। वैशाख दोस्रो साता इन्टरपोललाई रेड नोटिस जारीको माग गर्दै पत्र पठाएको थियो। तेस्रो साता पत्र फिर्ता भएकामा नोटिस जारी गर्न इन्कार मात्रै गरिएन, अनुसन्धानको प्रक्रियामाथि पनि प्रश्न उठाइएको थियो। २४ वैशाखमा विभागले प्रहरीमार्फत रेड नोटिस जारीका लागि दोस्रो पत्र इन्टरपोललाई पठाएकामा जेठ पहिलो साता इन्टरपोलबाट नोटिस जारी गर्न नसकिने जवाफ आएको थियो।

पक्राउ पुर्जी जारीविरुद्ध देउवा दम्पतीका तर्फबाट सर्वोच्चमा रिट दायर भएकामा ५ जेठमा मेघराज पोखरेलको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश दिएकामा ११ जेठमा महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी निष्क्रिय पारिदिएको थियो।

त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट भएका अनुसन्धानका आधारमा दायर मुद्दा काठमाडौं अदालतको साटो विशेष अदालत हुने भन्दै जिल्लाबाट जारी पक्राउ पुर्जी क्षेत्राधिकार बाहिरबाट भएकाले यसलाई बदर गरिदिएको थियो। २८ जेठमै देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेख्दै आफूहरू अनुसन्धानलाई सघाउन तयार रहेको तर पक्राउ पुर्जी जारी नगरिदिन इमेलमार्फत भनेका थिए ।

यतिमात्रै नभइ देउवापत्नी आरजु राणाविरुद्ध अख्तियारले पनि यही अवधिमा राहदानी खरिद प्रकरणमा अनुसन्धान अघि बढायो। अनुसन्धानका लागि तीन दिनभित्र उपस्थित हुन अख्तियारले २ असारमा बुढानीलकण्ठस्थित निवासमा म्याद तामेली गरेपछि ३ असारमा आरजु राणाले अख्तियारलाई इमेल लेखेर उपचारका क्रममा विदेशमा रहेकाले उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको थियो ।

जेन–जी आन्दोलनका क्रममा २४ भदौमा बुढानीलकण्ठस्थित घरमै सांघातिक आक्रमणमा परेका दुवै जना उपचारका लागि भन्दै १० कात्तिकमा पनि सिंगापुर जानुभएको थियो। देउवाले यसपटक पनि स्वास्थ्य उपचारका लागि विदेश गएको बताए भए पनि कुन देशमा, कुन अस्पतालमा र उपचार खर्चको स्रोत के हो भन्नेबारे स्पष्ट जानकारी दिनुभएको छैन । सम्पत्ति रोक्का जारी रहेको र विदेशी मुद्रा सटही सुविधासमेत नलिएको अवस्थामा लामो विदेश बसाइको खर्चबारे पनि प्रश्न उठिरहेका छन्।

पहिलोपटक १८ दिन सिंगापुर बसेर २८ कात्तिकमा दुवै जना काठमाडौं फर्किनुभएको थियो। त्यसअघि २८ असोजमा केन्द्रीय समितिको बैठकमा देउवाले पार्टी राजनीतिमा थप सक्रिय नहुने संकेत दिँदै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभयो । तर सिंगापुरबाट फर्किएपछि उहाँ पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद मिलाउन सक्रिय हुनुभयो।

यसपटक पनि उहाँले पार्टी एकता कायम राख्न सक्रिय हुने संकेत दिनुभएको छ । नेपाल ओर्लिँदा नागरिकको रुपमा फर्किएको बताए पनि देउवाले यसअघि ज्ञानेन्द्रले समेत परास्त गर्न नसकेकोमा अहिले कसैले आफूलाई परास्त गर्न नसक्ने भन्दै हाँक नै दिनुभयो। तर देउवाले नेपाल छोडेको साढे पाँच महिनाको अवधिमा कांग्रेसले चुनावमा लज्जास्पद पराजय मात्र भोगेन, पार्टीको एकता नै संकटमा परिसकेको छ। झण्डै दुई तिहाइ मतका साथ वालेन्द्र शाहको नेतृत्वमा रास्वपाको सरकार बनेको छ। बितेको साढे ३ दशकदेखिका सहयात्री नेकपा एमाले लगायतका सबैजसो दल या त निकै कमजोर छन् या त छिन्नभिन्न। नागरिक तहमा देउवाप्रति सहानुभुति त बाँकी होला तर देउवाबाट अब कुनै अपेक्षा छैन, उहाँकै केही निकटवर्ती नेता र कार्यकर्तामा बाहेक। चुनदेवीको सम्पर्क कार्यालयमा देउवाको नाम सभापतिको बोर्डमा लेखियो तर के देउवाले आफ्नो सान्दर्भिक पून: स्थापित गर्न सक्नुहोला ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.