कांग्रेसमा संवाद टुट्यो, दुईवटा महाधिवेशनको बाटो खुल्यो

भाद्र २८, २०८३ |प्रकाश बम
कांग्रेसमा संवाद टुट्यो, दुईवटा महाधिवेशनको बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद रोचक मोडमा पुगेको छ । 

सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच सहमतिका लागि संवादसमेत हुन् नसकेपछि १५औं महाधिवेशन नै दुईवटा हुनेतर्फ घटनाक्रम अघि बढेको छ । यस स्थितिमा देउवालाई साथ दिँदै आएका नेतामध्ये शेखर कोइराला एकताको महाधिवेशन नभए कुनै पनि महाधिवेशनमा सहभागी नहुने रणनीतिमा छन् भने निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको नैतिक समर्थन संस्थापनलाई हुने भएको छ । 

सभापति थापा पनि देउवा र शेखर कोइराला पक्षका नेताहरुलाई आफ्नो पक्षमा पार्ने रणनीतिअनुसार अघि बढेका छन् । शीर्ष नेताको टकराव र संवादसमेत हुन नसकेर पार्टी फुटतर्फ अघि बढ्न थालेपछि कांग्रेसका केही नेताहरु भने अझै एकताका लागि प्रयासरत छन् । 

शुक्रबारमात्रै निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सहितका २५ नेताले दुवै पक्षबाट घोषणा गरिएका महाधिवेशन स्थगित गरेर एकता महाधिवेशनको मिति सार्वजनिक गर्न अपिल गरे । एकताका लागि भन्दै अपिल जारी गरेका उपाध्याय, गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डे, श्याम घिमिरेलगायत २५ नेताहरु १५औं महाधिवेशनमा सहभागी हुने तयारीमा छन् । 

उनीहरु अधिकांश १४औं महाधिवेशनमा देउवा प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्यमा जितेका नेताहरू हुन् । यता मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका नेता शेखर कोइराला सहमतिको वातावरण निर्माण गर्न भन्दै परामर्शमै छन् । उनका सहयोगी दिनेश थपलियाका अनुसार एकताको महाधिवेशन नभए कोइराला कुनै पनि महाधिवेशनमा सहभागी हुने छैनन् । 

त्यस्तै निवर्तमान उपसभापति पूर्णबहादुर खड्का भने सर्वोच्चमा मुद्दा भएका कारण नैतिक रुपमा महाधिवेशनमा सहभागी नभए पनि सभापति थापालाई सहयोग गर्ने निर्णयमा पुगेका छन् । देउवा पक्षले भने ७७ वटै जिल्लामा प्रतिनिधि खटाएर महाधिवेशनको तयारी थालेको छ । 

जसअनुसार १५ असोजदेखि वडा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ । देउवाको नेतृत्वमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता भएमात्रै एकताको महाधिवेशन हुने नत्र आफ्नो पक्षले छुट्टै महाधिवेशन गर्ने देउवा पक्षका नेता गुरु बरालको जिकिर छ।

संस्थापन पक्षले पनि असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने कार्यातालिका अनुसार अगाडि बढेको छ । विशेष महाधिवेशनबाट बनेको कार्यसमितिमा काम गर्न चाहने १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई आह्वान गरेकोले अझै लचिलो भएर वातावरण निर्माणमा जुटेको संस्थापनको भनाइ छ । 

असन्तुष्ट पक्षका जायज माग पूरा गरिएकाले धैरै नेताहरु समाहित हुने र आउनै नचाहनेका लागि केही गर्न नसकिने नेताहरु बताउँछन् । देउवा समूहले सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला पुनरवलोकन गर्न दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । तर, संस्थापन र इतर पक्षले फरक-फरक मितिमा महाधिवेशन गर्न अघि सरेपछि कांग्रेस अब विभाजनको नयाँ चरणमा प्रवेश गरेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।