नाउपामा चुलियो विवाद : केन्द्रीय कार्यालयमै कुटाकुट, संस्थापक रेशम भन्छन्- पार्टी कसैको पेवा होइन

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
नाउपामा चुलियो विवाद : केन्द्रीय कार्यालयमै कुटाकुट, संस्थापक रेशम भन्छन्- पार्टी कसैको पेवा होइन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा आन्तरिक विवाद चुलिएको छ । संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी समूहबीचको विवाद उत्कर्षमा पुगेको हो ।

पति-पत्नीसमेत रहेका रेशम-रञ्जिता समूहबीचको विवादले उग्र रुप लिँदा आज (सोमबार) पार्टी केन्द्रीय कार्यालयभित्रै कुटाकुट भएको छ । काठमाडौंको अनामनगरमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुई नेतामाथि कुटपिट भएको हो ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई गरेको समर्थन निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र केन्द्रमा गत फागुन २१ मा बनेको नयाँ गठबन्धनलाई समर्थन गर्नुपर्ने भन्दै अघि बढेको रञ्जिता पक्षबीचको विवादले कुटाकुटको अवस्था सिर्जना भएको हो । रञ्जिता पक्ष नयाँ गठबन्धनलाई साथ दिँदै सुदूरपश्चिममा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरे पनि वर्तमान कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्दै अघि बढ्नुपर्ने रेशम पक्षको अडानले पार्टीभित्रको विवाद कुटपिटमा परिणत भएको हो ।

केन्द्रीय कार्यालयमा बसेको बैठकमा रञ्जिता पक्षधर मानिएका कैलाली टीकापुर नगरपालिकाका मेयरसमेत रहेका रामलाल डगौरा थारू र अर्का नेता रमेश विकमाथि रेशम पक्षधरका नेताहरुले कुटपिट गरेका हुन् । कुटपिटपछि रञ्जिता पक्षधरका रामलाल, रमेशसँग पाँच नेता बैठकस्थल छाडेर बाहिरिए । रामलालका अनुसार बैठकमा रञ्जिता पक्षधर आफूहरु पाँचजना रहेको र कुटपिटपछि बैठकस्थल छाडेर बाहिरिएको जनाएका छन् । उनले भने, ‘रेशमजी पक्षधरहरुबाट हाम्रा टिमका साथीहरुमाथि नै आक्रमण गरियो ।’

यसैबीच पार्टीका केन्द्रीय महासचिव गंगाराम चौधरीले यही चैत २३ र २४ गते बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएको सूचना जारी गरेका छन् । उनले पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन भन्दै सूचना जारी गरेका हुन् ।

चौधरीद्वारा जारी सूचनामा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उपस्थितिमा पार्टीको महत्त्वपूर्ण विषयवस्तुमा छलफल गर्नुपर्ने भएको हुनाले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित तपसिलको मिति समय र स्थानमा अनिवार्य उपस्थिति भई दिन हुन जानकारीका साथ अनुरोध गरिन्छ ।’

घटनापछि पार्टीका संस्थापक रेशमले भने पार्टी कसैको पेवा नरहेको र चैत २३ र २४ मा बस्ने केन्द्रीय समिति बैठकले गर्ने निर्णय सबैले स्वीकार्ने जनाएका छन् । उनले आफूलाई जेल हालेर जसरी पनि सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरु रहेको र त्यसका पछाडी आफू नलाग्ने पनि जनाएका छन् । केन्द्रीय कार्यालयमा भएको घटनापछि रेशमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्की कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौं । अनावश्यक हो- हल्लाको पछि नलागौं । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचानवादीहरुको साझा आवाज हो ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.