नागरिक उन्मुक्तिमा हात हालाहालदेखि पार्टीबाट निष्कासनसम्म

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
नागरिक उन्मुक्तिमा हात हालाहालदेखि पार्टीबाट निष्कासनसम्म

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद हात हालाहालदेखि निष्कासनसम्म पुगेको छ ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गर्दै पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले उनीहरू दुवैलाई पत्र लेखी कारबाही गरिएको जनाएकी हुन् । 

हिजो पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको उनले लेखेको पत्रमा उल्लेख छ । 

सुदूरपश्चिम प्रदेशमा कुन समीकरणमा सामेल हुने भन्नेमा रेशम र रन्जिताको मत बाझिएपछि नागरिक उन्मुक्तिमा विवाद बढेको हो । अध्यक्ष रन्जिता संघदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारको पक्षमा छन् । 

दुई जनाबीच विवाद बढिरहँदा पार्टीका महासचिव गंगाराम चौधरीले यही चैत २३ र २४ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन् ।

यो पनि...

नाउपामा चुलियो विवाद : केन्द्रीय कार्यालयमै कुटाकुट, संस्थापक रेशम भन्छन्- पार्टी कसैको पेवा होइन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.