काठमाडौं । गत वर्ष जेन-जी आन्दोलनलगत्तै पुराना राजनीतिक दलहरुले अब विगतका कमी कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
यसबीचमा भएको निर्वाचनबाट उनीहरु जनमतबाटै समेत अस्वीकृत भए । तर, यो एक वर्षको अवधिका गतिविधि हेर्दा कांग्रेस, एमाले, नेकपासहितका दलहरु अझै सच्चिन तयार देखिएका छैनन् । नेताहरु पुस्तान्तरण र रुपान्तरणको कुरा सुन्नै तयार देखिएका छैनन् भने आफ्ना कमजोरीमाथि समीक्षासमेत गर्न चाहँदैनन् ।
यी प्रवृत्तिका कारण पुराना दलहरु थप संकटतर्फ उन्मुख रहेको राजनीतिक विश्लेषकहरुको मत छ । एक वर्षअघि भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि सत्ताच्यूत हुनुपरे पनि पुराना दलहरु रुपान्तरण हुनै तयार नभएको देखिएको छ ।
आन्दोलनलगत्तै कांग्रेस, एमाले तथा तत्कालीन माओवादी केन्द्रले विगतका गल्ती कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । तर, यो एक वर्षका घटनाक्रम हेर्दा दलहरु त्यो मार्गमा देखिँदैनन् । भदौ २५ मा कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरेर युवा पुस्ताको भावनालाई पार्टीले बुझ्न नसक्दा घटना भएको निष्कर्ष निकाल्दै त्यसलाई आत्मसाथ गरेर जाने वाचा गरेका थिए ।
आन्दोलनका बेला सत्ताको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त लामो समयसम्म परिवर्तनलाई नै स्वीकार गरेनन् । एमाले महासचिव शंकर पोखरेलले भदौ २६ गते विज्ञप्ति जारी गरेर सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवापुस्ताका सरोकार सम्बोधनका लागि सार्थक सम्वाद गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।
तर, एमालेले अहिलेसम्म पार्टीको बैठक बोलाएर जेन-जी आन्दोलनमा पार्टीको जिम्मेवारी कति रह्यो भन्ने विषयमा अझै समीक्षा गरेको छैन । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भदौ २६ गते विज्ञप्ति जारी गरेर जेन-जी विद्रोह हुनुमा पार्टीको कमजोरी थियो वा थिएन भन्ने उल्लेख नगरी कांग्रेस र एमालेको तत्कालीन गठबन्धन सरकारमा दोष थोपर्दै आफू पन्छिने अभिव्यक्ति दिएका थिए ।
दाहालले जेन-जी विद्रोह आफ्नै पार्टीको मागसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया दिए तर पार्टीले आन्दोलनको समीक्षा अहिलेसम्म गरेको छैन । यी तीन दलले परिवर्तित राजनीतिलाई स्वीकार गर्नुको साटो आफ्नै नेतृत्व बचाउन लाग्दा थप संकटतर्फ उन्मुख भइरहेको सामाजिक अभियन्ता जेवी विश्वकर्माको बुझाइ छ ।
पुराना दलहरु आन्दोलनबाटै स्थापित भए पनि अब थप नयाँ रणनीति, योजना र उर्जाकासाथ अघि नबढ्ने हो भने मतदाताले अझै छाड्न विश्वकर्माको विश्लेषण छ । संविधानविद् विपिन अधिकारी पनि पुराना राजनीतिक दलहरु चुनावमा पराजित भएसँगै कठिन अवस्थामा पुगेको तर यो कठिन अवस्थालाई कसरी चिर्ने भन्नेमै अन्योल देखिएको बताउँछन् ।
केन्द्रदेखि वडातहसम्म पार्टीको सांगठनिक संरचना भए पनि जेन-जी घटनालाई लिएर व्याख्या गर्ने विषयमै नेताहरुमा अन्योल देखिदा पार्टीको अवस्था कमजोर देखिएको विश्लेषण अधिकारीको छ । जेन-जी आन्दोलनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ शक्तिमा स्थापित भइसकेको छ ।
तर, पुराना दलहरु हार स्वीकार नगर्ने र पार्टी कब्जा गरेर बस्ने पुरानै चिन्तनमा रहँदा पुस्तान्तरणको आवाज पार्टीभित्र कमजोर बनेको पूर्वप्रशासक भोजराज पोखरेलको भनाइ छ। यद्यपि पुराना दलभित्र नेतृत्व पुस्तान्तरणका आवाज नउठेका भने होइनन् । जेन-जी विद्रोह भएको एक वर्षपुग्दा पनि त्यसको समीक्षा नगरिएको र पार्टीभित्र परिवर्तन नदेखिएको युवा नेताहरुको भनाइ छ ।
मधेशकेन्द्रित दलहरुको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले भदौ २६ मै विज्ञप्ति जारी गरेर युवाका माग सरकारले सम्बोधन नगर्दा जेन–जी आन्दोलन भएको आरोप लगाएको थियो । तर, आन्दोलनयता मधेशकेन्द्रित दलसमेत तितरबितरको अवस्थामा छन् भने आमनिर्वाचनमा उनीहरु आधार क्षेत्र मधेशमै अस्तित्वविहीन अवस्थामा पुगेका छन् ।
पुराना पुस्ताबाट अब नेतृत्व सम्भव छैन भन्ने निष्कर्षमा रहेका दलका युवा नेताहरु आन्तरिक संघर्षमा त छन् तर तत्कालै पुस्तान्तरण भइहाल्छ भन्नेमा उनीहरु ढुक्क देखिँदैनन् । जेन-जी घटनालाई व्याख्या गर्ने विषयमै मतभेद देखिएका छन् ।
जेन–जी आन्दोलन भएको एक बर्ष बितिसक्दा पनि कहाँ चुक्यौ र कमजोरी कहाँ रह्यो भन्ने समीक्षासमेत कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका पुराना दलले गर्न सकेका छैनन् ।