राष्ट्रपतिले गरे संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिले गरे संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रमको वाचन सुरु गरेका हुन् ।

बैठकको सुरुवातमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका थिए । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे सुरु भएको सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका छन् ।

सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय संसद्मा राष्ट्रपति पौडेलको यो पहिलो सम्बोधन हो ।

संसदीय लोकतान्त्रिक शासन प्रणाली अभ्यास गरेका मुलुकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत हुने र त्यसमाथि छलफल भई पारित गर्ने अभ्यास रही आएको छ ।

बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्नेछन् । प्रधानमन्त्री दाहालले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । सरकारले आज पेस गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । छलफलमा उठेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन् । 

नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीबाट सदनसमक्ष आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार...

संसद्‍मा बोल्दाबोल्दै राष्ट्रपतिले भने– चिसो भयो, तातोपानी चाहियो !

फरार भनिएकी मञ्‍जु खाण ‘संसद्‌मा हाजिर’

संसद भवनमा यसरी पुगे राष्ट्रपति पौडेल (भिडियो)

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

सहर र राजमार्ग वरपर एक हजार सार्वजनिक शौचालय बनाइने

सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

अब सरकारी कार्यालयमा विद्युतीय सवारी

मुलुकलाई काठमा आत्मनिर्भर बनाइने

सरकारले फेरि ल्यायो गिटी, बालुवा, ढुंगा निर्यातको योजना

Enter Kantipur TV HD
Advertisement