काठमाडौं । नेकपा एमालेको नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठन हुनुपर्ने सिंगो कार्यकर्तापङ्तिको मागलाई लत्याउँदै अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पद नछाड्ने अडान राखेका छन् ।
कतिसम्म भने अध्यक्ष ओलीले सातै प्रदेशबाट कार्यकर्ताले दिएको पार्टी पुनर्गठनको माग समेटिएको कार्यदलको प्रतिवेदनलाई केन्द्रीय समितिमा राख्न समेत मानेनन् । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय भोगेको र भदौं २३- २४ का घटनाबाट तत्कालीन प्रधानमन्त्रीबाट सत्ताच्यूत भए पनि ओलीले त्यसलाई आफ्नो कमजोरीका रुपमा प्रतिवेदनमा स्वीकार समेत गरेका छैनन् ।
एमाले केन्द्रीय कमिटी बैठकले ६ महिनापछि बल्ल गत फागुन २१ को निर्वाचनको समीक्षा गर्दैछ । तर, चार महिना पहिले नै पार्टी पुनर्गठनका लागि तल्ला कमिटीबाट आएको सुझावसहितको प्रतिवेदन भने यो केन्द्रीय कमिटीमा छलफल नै नहुने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले कार्यदलको प्रतिवेदनलाई स्वीकार गर्नु त परको कुरा, छलफलमा लैजान समेत मानेनन् । बरु अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प शीर्षक दिइएको ८८ पृष्ठको प्रतिवेदनमा नेतृत्व छाड्दै नछाड्ने अडान पेस गरे ।
उनले आफूमाथि प्रश्न उठाउने नेता कार्यकर्ताको कडा आलोचना गर्दै अनुशासनहीन भनेका छन् । उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेश पुगेर तयार सुझाव ल्याएको थियो ।
चार महिनाको मिहिनेत र कार्यकर्ताको सुझावसहितको प्रतिवेदन छलफलको कार्यसूचीमै नभएपछि कतिपय नेताले असन्तुष्टि पोखेका छन् । तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठक अब ओलीको निर्देशनको वरिपरि घुम्ने जस्तो देखिँदैछ । एमालेका कतिपय नेताहरुले भने अध्यक्ष ओलीले आत्माआलोचित भएर कार्यदलले दिएको सुझावसहित प्रतिवेदन पेस भएको भन्नुले त्यसैको संकेत गर्छ ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरुले कार्यदलको प्रतिवेदनअनुसार नेतृत्व परिवर्तनसम्मको कुरा उठाउँदै आएका थिए । तर, अध्यक्ष ओलीले आफूलाई कसैले हटाउन नसक्ने चेतावनी दिइरहेपछि अहिले उनीहरु पनि गल्दै गए जस्तो देखिन्छ ।
अहिलेको अहं प्रश्न भनेको पार्टी शिथिल र कार्यकर्ता निरास भएको पछिल्लो अवस्थामा तीन दिनसम्म चल्ने एमाले केन्द्रीय कमिटीले अध्यक्ष ओलीकै चाहनालाई अनुमोदन गर्ला कि परिवर्तनको मुद्दालाई अघि बढाउला भन्ने हो ।