रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने

काठमाडौं । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभेर एकीकृत रुपमा प्रसारण गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति कार्यक्रममा सरकारी टेलिभिजन र रेडियोलाई आपसमा गाभ्ने नीति अगाडि सारिएको हो ।

त्यसैगरी सरकारले प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने र आम सञ्चारको छाता कानून निर्माण गर्ने नीति अगाडि सारेको छ ।

सरकारको नीति तथा कार्यक्रममा समानुपातिक विज्ञापन प्रणाली लागु गरिने, ज्येष्ठ पत्रकारलाई सम्मान गरिने र द्वन्द्व पीडित पत्रकारलाई राहत दिने बताइएको छ । श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र पत्रकारलाई समाजिक सुरक्षाको दायरामा समेट्ने सरकारले नीति अगाडि सारेको छ ।

त्यसैगरी सरकारले नयाँ दुर सञ्चार कानून बनाउने भएको छ । एक पालिका एक हुलाकको अवधारणा कार्यान्वयन गरिनुका साथै हुलाक बचतलाई वाणिज्य बैंकमा गाभ्ने नीति सरकारले अगाडि सारेको छ ।

सुरक्षण मुद्रण अन्तरगत देशभित्रै छपाइको प्रवद्र्धन गर्ने नीति सरकारले अगाडि सारेको छ । साथै खुमलटारमा ज्ञान पार्क बनाइने र विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गरिने लगायतका नीति सरकारले अगाडि सारेको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.