वडा अधिवेशन सुरु भएसँगै कांग्रेसको विवाद झन् सतहमा

तीन धारमा विभाजित कांग्रेस
आश्विन ३, २०८३ |प्रकाश बम
वडा अधिवेशन सुरु भएसँगै कांग्रेसको विवाद झन् सतहमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि विभिन्न जिल्लामा वडा अधिवेशन सुरु भएको छ । 

संस्थापन पक्ष महाधिवशेनमा होमिँदा देउवा पक्ष भने असोज १५ गते हुने छुट्टै महाधिवेशनमा जुटेको छ । जसका कारण तटस्थ रहेको शेखर कोइराला पक्षले विभाजनको रेखा कोरिएको बताइरहेको छ । सभापति गगन थापा पक्ष, देउवा पक्ष र तटस्थ भूमिकामा रहेको शेखर कोइराला समूहका कारण पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस तीन धारमा देखिँदा तल्लो तहका नेता तथा कार्यकर्ता अन्योलमा परेका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ३५ जिल्लामा वडा अधिवेशन शनिबारबाट सुरु भएको छ भने ३९ जिल्लामा आइतबार वडा अधिवेशन हुनेछ । रसुवा र नुवाकोटमा असोज ७ र धादिङमा असोज ५ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ । 

विधानअनुसार केन्द्रीय सदस्यले समेत वडाबाटै निर्वाचन लडेर आउनुपर्ने व्यवस्था छ । सभापति गगन थापादेखि केन्द्रीय सदस्यले समेत जिल्ला तहबाटै मनोनय दर्ता गराएका छन् । जारी वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ । संगै क्षेत्रीय प्रतिनिधि समेत चयन गर्छ । 

अधिवेशनमा वडाक्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता र सदस्य हुन्छन । असोज ७ गते बुधबार गाउँरनगरपालिका अधिवेशन गर्ने असोज १० गते शनिबार प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा असोज १६, १७, १८ र १९ गते पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यातालिका छ । 

गाउँ, नगर, उपमहानगर र महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन् । देउवा समूहले भने १५ गतेबाट अधिवेशन गर्ने तयारी गरिरहेको छ । ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको यो पक्षले विभिन्न जिल्लामा संयोजक र सहसंयोजक समेत तोकेर तयारी तीव्र पारेको हो । 

सर्वोच्चमा रहेको मुद्दा कुरेर बस्नुपर्ने संस्थापनले निर्वाचनको प्रक्रिया सुरु गरेका विभाजन चाहेको आरोप लगाएको छ । सभापति थापाले पार्टी एकताका लागि पहल नगरेपछि आफूहरू मंसिरमा महाधिवेशन गर्नेगरी अगाडि यो पक्षका नेताको भनाइ छ ।

कांग्रेस संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशनतर्फ अगाढी बढ्दा शेखर कोइराला समूह भने तटस्थ बसेको छ । यो समूहले दुवै तर्फका अधिवेशन रोकेर सहमतिको वातावरण निर्माण गर्नुपर्ने अडानमा छ ।

देउवा पक्षले शनिबारको वडा अधिवेशनमा भाग लिएको छैन । जसका कारण कतिपय प्रभावशाली र शीर्ष नेता तल्लो तहको अधिवेशन प्रभावित भएको छ । गगन कांग्रेस, देउवा कांग्रेस र तटस्थ कांग्रेस गरी तीन धारमा विभाजित हुँदा तल्लो तहका कतपिय नेता कार्यकर्ताहरु अन्यौलमा छन् । विवाद समाधानका लागि देउवा र थापाबीच संवाद हुन समेत सकेको छैन । 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।