महाकालीमा पनि बढ्यो पानीको बहाब, बाढी र कटानको उच्च जोखिम

नदी छेउछाउ नजान प्रशासनको आग्रह, त्रासमा सर्वसाधारण
असार २२, २०८१ |मनोज बडू
महाकालीमा पनि बढ्यो पानीको बहाब, बाढी र कटानको उच्च जोखिम

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दै गइरहेको छ । नदीमा पानीको बहाब बढिरहेको हुनाले तटीय क्षेत्रमा बसोबास रहेको स्थानीय बासिन्दा त्रासमा छन् ।

दुई दिनदेखिको लगातारको वर्षाले नेपाल-भारत सीमा नदी महाकालीमा शनिबार बिहानैबाट पानीको सतह बढ्न सुरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षण छत्र रावतका अनुसार नदीमा पानीको सतह बढिरहे पनि क्षतिको यकिन विवरण प्राप्त भएको छैन । नदी आसपास क्षेत्रमा बसोबास रहेका बस्तीमा भने बाढी र कटानको जोखिम रहेकाले स्थानीय बासिन्दामा त्रास बढेको छ ।

पानीको बहाब उच्च हुँदै गएको कारण नदी छेउछाउ नजान प्रशासनले आग्रह गरेको छ । माथिदेखि जिल्लाको तल्लो क्षेत्रमा नदीको सतह बढिरहेको अवस्था छ । तटबन्ध बनेको ठाउँहरुमा जोखिम नरहे पनि अस्थायी तटबन्ध नभएका ठाउँहरुमा बाढी र कटानको उच्च जोखिम छ । बाढीको जोखिमकै कारण सर्वसाधारणमा त्रास बढेको लेकम गाउँपालिका ३ का जयलाल टमटाले बताउनुभयो ।

निरन्तर वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सानातिना पहिरो र पहिरो तथा बाढीको जोखिमका कारण त्रासमै रात काट्न बाध्य भएको मार्मा गाउँपालिका ४ र ५ का बासिन्दा बताउँछन् । मार्मा गाउँपालिका ४ का सुनील विष्टका अनुसार मर्मती बस्तीका १० परिवार विस्थापित भइसकेका छन् । उनका अनुसार बाढी तथा पहिरोको जोखिमले केहीले घर छाडेका छन् । केही घर पूर्ण रूपमा क्षतिसमेत भएका छन् ।

त्यस्तै दार्चुलाको मुख्य सडकमार्ग दार्चुला-गोकुलेश्वर खण्डको तेर्छालेकमा शनिबार बिहान पहिरो जाँदा केही समय सडक अवरुद्ध बने पनि अहिले नियमित सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य ग्रामीण तथा सहायक मार्गहरु भने पहिरो र बाढीका कारण अवरुद्ध भएका छन् । यस्तै निरन्तरको वर्षाका कारण मालिकार्जुन गाउँपालिका २ र ८ नम्बर जोड्ने झोलुंगे पुलमा क्षति पुगेको छ ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ रहेको पर्खाल भत्किएपछि आउजाउ ठप्प भएको गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीले जानकारी दिनुभयो । यस्तै सेलिचामामा निर्माण भइरहेको भवनमा पहिरोले क्षति पुर्‍याएको छ ।

यो पनि...

पहिरोले ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुर्‍यो

बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले आन्तरिक उडान प्रभावित

फिस्लिङको पहिरो हटाइयो, सवारीसाधन एकतर्फी सञ्चालन


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement