
रौतहट । रौतहटको गढीमाई र गरुडा नगरपालिकामा कार्यरत कर्मचारीहरू तलब नपाएपछि आन्दोलित बनेका छन् । पालिकाको गैरजिम्मेवारीकै कारण आन्दोलन गर्नुपरेको उनीहरूको दाबी छ । दशैंमा समेत पालिका नेतृत्वकै कमजोरीले तलब नपाउने अवस्था आएपछि स्थायी र करारका कर्मचारीले पालिकाको मुख्य गेटमा ताला लगाउँदा कामकाजसमेत प्रभावित बनेको छ ।
यो रौतहटको गढीमाई नगरपालिका हो । दोस्रो कार्यकालका नगर प्रमुख श्यामप्रसाद यादव भ्रष्टाचार मुद्दामा तीन महिनाअघिदेखि निलम्बित छन् । त्यसयता कार्यवाहक नगरप्रमुखको जिम्मेवारी स्मिताकुमारी यादवले सम्हालेका छिन् । यस पालिकाका करारमा कार्यरत रहेका कर्मचारीहरूले तीन महिना देखि बीस महिनासम्मको तलब पाउन सकेका छैनन् । दशैंमा समेत तलब नपाउने नभएपछि उनीहरू आन्दोलित बनेका छन् । तीन आर्थिक वर्षदेखि बाँकी रहेको तलब नपाएपछि कर्मचारीहरूले तालाबन्दीसमेत गरेका छन् । पालिकाको खातामा पर्याप्त बजेट नभएकाले तलब भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेयले बताएका छन् । वडामा कार्यरत कर्मचारीहरूको तलब भुक्तानी भए पनि शिक्षा, स्वास्थ्य र कृषिलगायतका शाखामा कार्यरत करार कर्मचारीलाई तलब नदिएर विभेद गरेको आन्दोलनरत पक्षको आरोप छ ।
त्यस्तै गरुडा नगरपालिकाको पनि खाता सञ्चालन नहुँदा कर्मचारीहरूले चार महिनादेखिको तलब खान पाएका छैनन्। पालिकामा कार्यरत लेखापालको सरुवा भएपछि अर्को लेखापालको नाममा खाता सञ्चालनको लागि पालिकाले नै पहल नगरेकाले यो अवस्था आएको दाबी जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले गरेको छ । खाता सञ्चालन नहुँदा कर्मचारीहरूले आफ्ना समस्यासहितको १३ बुँदे ज्ञापनपत्र पालिका प्रमुख र प्रशासकीय अधिकृतलाई समेत बुझाएका छन् । माग सम्बोधन नभएसम्म कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
पालिका नेतृत्व सक्षम नहुँदा कसरी बेथिति बढ्दै जान्छ भन्ने उदाहरण गढीमाई र गरुडामा देखिएको छ । करारका कर्मचारीहरूलाई लामो समयदेखि तलबभत्ता नदिने र समस्या समाधान गर्नुको साटो झन् बल्झाउने काम पालिका नेतृत्वबाटै भएको भएको देखिएको छ । गरुडामा त झन् खाता सञ्चालनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयले तोकेको प्रक्रिया पुर्याउनमै स्थानीय सरकार उदासीन देखिएको छ ।