
महोत्तरी । दशैँ नजिकइसकेको छ ।
मिथिला क्षेत्रका गाउँनगरमा यतिबेला दूर्गा पूजाको तयारीस्वरूप माटोका मूर्ति बनाउने चटारो छ । यसका लागि मूर्तिकारहरू दिनभर माटोसँगै व्यस्त हुन्छन् । अरूका लागि दशैँ धार्मिक आस्थाको पर्व हो भने मूर्तिकारका लागि यही समय वर्षभरिको आम्दानी जुटाउने अवसर पनि हो ।
एउटा मूर्ति वा प्रतिमा तयार पार्न उनीहरूले कति मिहिनेत गर्छन् त ?
मिथिलाञ्चलका विभिन्न गाउँ नगरमा दूर्गा पूजा हुने स्थलहरूमा मूर्तिकारका हात अहिले माटोलाई आकार दिइरहेका छन् । परिश्रमी हातहरूले कतै माटो मुछ्दैछन्, कहीँ देवी–देवताका अनुहार कुदिँदैछ भने कतै तयार भइसकेका प्रतिमामा रङ भर्ने काम चलिरहेको छ ।
दशैँ नजिकिएसँगै मिथिला क्षेत्रका मूर्तिकारलाई अहिले आराम गर्ने फुर्सद छैन । माटोको डल्लालाई कलात्मक प्रतिमामा बदल्न केवल सीप भएर पुग्दैन, समय र धैर्य पनि उत्तिकै चाहिन्छ ।
एउटा प्रतिमा तयार गर्न माटोको काममै करिब १५ दिन लाग्छ । त्यसपछि प्रतिमा सुकाउने, रङरोगन गर्ने र अन्तिम सजावट गर्न थप तीन–चार दिन लाग्ने गर्छ । अर्थात् पूजा स्थलहरूमा विभिन्न देवी देवताको प्रतिमा तयार पार्न मूर्तिकारहरूलाई दुईदेखि तीन सातासम्म आफ्नो समय र श्रम लगाउनुपर्छ ।
मिहिनेतअनुसार प्रतिमाको मूल्य पनि फरक–फरक हुन्छन् । हुन त प्रतिमा निर्माण गर्ने कलाकारहरूले यस समयमा मेहनतअनुसार आम्दानी नहुने गरेको गुनासो मूर्तिकारहरूको छ । दशैँका बेला माग बढ्ने भएकाले मूर्तिकारका लागि यो मौसम आम्दानीको हिसाबले महत्वपूर्ण मानिन्छ ।
तर, एउटै प्रतिमा बनाउन धेरै दिन लाग्ने र प्रतिमा तयार भएपछि मात्रै पारिश्रमिक पाउने भएकाले यो काम भने सजिलो हुँदैन । घाम, धुलो र माटोबीच घण्टौँ खटिएर उनीहरूले प्रतिमालाई आकार दिन्छन् ।
मिथिलाको कला र संस्कृतिसँग जोडिएको मूर्ति पूजाको यो परम्परा पुस्तौँदेखि चल्दै आइरहेको छ । दशैँमा दुर्गा, काली, सरस्वती, लक्ष्मी, गणेशलगायत देवी–देवताका प्रतिमा स्थापना गरेर पूजा गरिन्छ । पूजा सकिएपछि यी प्रतिमा नदी, तलाउ तथा जलाशयमा बिसर्जन गरिन्छन् ।
एकातिर केही दिनका लागि बनाइएका यी प्रतिमा जलमा विलीन हुन्छन्, अर्कोतिर मूर्तिकारको हातमा भने त्यही माटोबाट फेरि अर्को वर्षको दशैंका लागि नयाँ प्रतिमा बनाउने सीप बाँकी रहन्छ ।