स्टार खेलाडी घाइते हुँदा युरोपेली ठूला क्लबहरु पिरलोमा

आश्विन २२, २०८३ |सुवास रोकाया
स्टार खेलाडी घाइते हुँदा युरोपेली ठूला क्लबहरु पिरलोमा

काठमाडौं । युरोपेली एलिट फुटबलमा हरेक पटक अन्तर्राष्ट्रिय ब्रेक आउँदा क्लबहरूका लागि एउटा ठूलो चिन्ता थपिने गर्छ । राष्ट्रिय टोलीको ड्युटी पूरा गरेर फर्किँदा आफ्ना मुख्य स्टार खेलाडी घाइते हुने समस्याले युरोपका ठूला क्लबहरूलाई निरन्तर पिरोलिरहेको छ।

हालै सम्पन्न अन्तर्राष्ट्रिय ब्रेकपछि युरोपका शीर्ष पाँच लिगका कम्तीमा ६० जना खेलाडी विभिन्न चोट लिएर आफ्नो क्लबमा फर्किएका छन् । जसलाई फुटबल जगतमा 'फिफा भाइरस'को रूपमा हेरिन्छ । तथ्यांकअनुसार इङ्लिस प्रिमियर लिगबाट १६ जना, इटालियन सेरी आबाट १४ जना, स्पेनिस ला लिगाबाट १३ जना, फ्रेन्च लिग १ बाट ९ जना र जर्मन बुन्डेसलिगाबाट ८ खेलाडी राष्ट्रिय ड्युटीका क्रममा घाइते वा अस्वस्थ भएका छन् ।

आर्सनलका काई हाभर्ट्ज र एज्री कोन्सा, लिभरपुलका कोडी गाक्पो र अलेक्ज्यान्डर इसाक, म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड, म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस, टोटेनहमका मिकी भ्यान डे भेन, बार्सिलोनाका राफिन्या, रियल म्याड्रिडका किलियन एम्बाप्पे र इब्राहिमा कोनाते, बायर्न म्युनिखका जमाल मुसियाला, बोरुसिया डर्टमन्डका निको स्लोटरबेक, पिएसजीका फेरान टोरेस जस्ता स्थापित नामहरू यसपटकको इन्जुरी सूचीमा परेका छन् ।

यस समस्याको पछाडि एउटा प्रश्न खडा हुन्छ । के दुई फरक फुटबल वातावरणका बीच निरन्तर आउजाउ गर्दा खेलाडीलाई शारीरिक र रणनीतिक रूपमा अनुकूल हुन गाह्रो भइरहेको हो ? एउटा क्लबमा खेलाडीले सिजनभरि एक जना मुख्य प्रशिक्षक, एक किसिमको रणनीतिक संरचना, टिममेटहरु र एउटै फिलोसफीअन्तर्गत महिनौं बिताएका हुन्छन् । तर राष्ट्रिय टोलीमा पुग्दा उनीहरूले नयाँ फर्मेसन, नयाँ सिस्टम र क्लबभन्दा केही फरक जिम्मेवारी र वातावरण बुझ्न केही दिन मात्र पाउँछन्।

त्यसपछि, एक वा दुई अन्तर्राष्ट्रिय म्याच खेलेलगत्तै उनीहरू पुनः क्लबमा फर्किन्छन् र लगत्तै अर्को रणनीतिमा घुलमिल हुनुपर्ने बाध्यता छ । यो फेरबदलले खेलाडीमा मानसिक र शारीरिक थकान त हुने नै भयो । यद्यपि हरेक चोट रणनीतिक परिवर्तनकै कारण हुन्छ भन्ने भने होइन, तर यस प्रकारको ‘सडन चेन्ज’ ले खेलाडीको शरीरलाई उच्च जोखिममा भने पक्कै पुर्‍याउँछ । १६ दिनको अन्तर्राष्ट्रिय विन्डोमा ४ वटासम्म खेल खेल्नुपर्ने बाध्यता, लामो हवाई यात्रा, फरक वातावरण र टाइम जोनसँग एडजस्ट हुनुपर्ने दबाब खेलाडीमाथि हुन्छ ।

अन्तर्राष्ट्रिय म्याच सकिएलगत्तै विश्रामका लागि पर्याप्त समय नपाई खेलाडीहरू पुनः लिग फुटबलमा फर्किनु पर्छ । पहिले नै व्यस्त रहेको फुटबल क्यालेन्डरमा सीमित रिकभरी समयका कारण खेलाडीमा अत्यधिक दबाब पर्छ ।

यसको सिधा असर क्लबहरूमा परेको छ । टोलीको सुरुवाती एघार बिग्रनु, स्क्वाडको डेप्थ घट्नु, बेन्चका खेलाडीमाथि दबाब पर्नु र रणनीतिक फेरबदल गर्न बाध्य हुनु यसका प्रत्यक्ष कारण हुन् । प्रिमियर लिग, ला लिगा, सेरी आ, बुन्डेसलिगा, लिग १ र च्याम्पियन्स लिग जस्ता प्रतियोगीताको महत्त्वपूर्ण उपाधि होडमा एउटा मुख्य खेलाडीको अनुपस्थितिले पूरै सिजनको नतिजालाई असर गर्न सक्छ । यसैकारण क्लब र राष्ट्रिय टोलीबीचको तनाव बढेको छ । यो समस्याले आधुनिक फुटबल क्यालेन्डरको बहसलाई पुनः सतहमा ल्याइदिएको छ । क्लब र अन्तर्राष्ट्रिय दुवै स्तरमा खेल र प्रतियोगिताको संख्या निरन्तर बढ्दा खेलाडीहरूले रिकभरीका लागि पाउने समय निरन्तर घट्दो छ । फिफा, युएफा, राष्ट्रिय टोलीहरू, क्लबहरू, प्रशिक्षकहरू र खेलाडी सबैले व्यावसायिक सफलता र खेलाडीको स्वास्थ्यबीच सन्तुलन कायम गर्नुपर्ने दायित्व पनि बढेको छ ।

व्यावसायिक फुटबलको मनोरन्जन र व्यावसायिक मूल्य महत्त्वपूर्ण छ, तर खेलाडीको शारीरिक र मानसिक कल्याण बिना यसको गुणस्तर कायम रहन सक्दैन । यदि अन्तर्राष्ट्रिय ब्रेक र क्यालेन्डरको समय तालिकामा उचित सुधार गरिएन भने, एलिट फुटबलको भविष्य र यसको सुन्दरतामै संकट आउने निश्चित छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।