बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

सेतीको सतह बढेको बढ्यै, विद्युत् सेवा अवरुद्ध
असार २२, २०८१ |वसन्तप्रताप सिंह
बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

बझाङ । सेती नदीमा आएको बाढी थलारा गाउँपालिका ९, झ्याँबगर गाउँमा पसेको छ । बाढी पसेपछि झ्याँबगर गाउँ सेतीका दुईवटा भंगालोको बीचमा परेको छ ।

गाउँ डुबानमा परे पछि १४ परिवार विस्थापित भएका छन् । ‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ थलारा गाउँपालिका ९ का वडाध्यक्षसमेत रहनुभएका लोकेन्द्र विष्टले भन्नुभयो, ‘नदीको सतह बढेको बढ्यै छ । जुनसुकै बेला पनि गाउँ बगाउन सक्छ ।’

बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घरभित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका नवीनबहादुर विष्टले बताउनुभयो । ‘मान्छे र गाईबाख्रालाई तार्दा-तार्दै नदीले घरहरु डुबाइहाल्यो,’ उहाँले भन्नुभयो, ‘टापुमा अड्किएका मान्छेलाई बल्ल-बल्ल वारि तार्न सक्यौं । घरभित्रका सामान केही पनि ल्याउन पाएनौं ।’

गाउँमा बाढी पसेपछि विस्थापित भएकाहरु तुलनात्मक रुपले सुरक्षित रहेका आफन्तको घरमा आश्रय लिएको विष्टले जनाउनुभयो । बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण सेती नदीको जलस्तर खतराको तहमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेबसाइटले सेतीको जलसतह बढेर ४.२९ मिटर पुगेको जनाएको छ । यो खतराको तह भएको वेबसाइटमा उल्लेख छ ।

शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जलसतह शनिबार साँझसम्म निरन्तर बढेको बढ्यै छ । लगातारको वर्षापछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुईवटा पोल बगाउँदा बझाङको विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

सेतीका सहायक खोला र नदीमा पनि जलस्तर बढेका कारण नदी र खोला किनारका बस्तीहरुमा जोखिम बढेकोले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि नै निरन्तर सतर्कता सूचना जारी गरिरहेको छ ।

यो पनि...

फिस्लिङमा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले आन्तरिक उडान प्रभावित


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement