चीनसँगको व्यापार ठप्प हुँदा लिपिङदेखि खाडीचौरसम्मका व्यवसायी मारमा

आश्विन २३, २०८३ |कमला पाख्रिन
चीनसँगको व्यापार ठप्प हुँदा लिपिङदेखि खाडीचौरसम्मका व्यवसायी मारमा

सिन्धुपाल्चोक । सन्धुपाल्चोकको तातोपानी नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित मात्र भएको छैन, यसको प्रत्यक्ष असर लिपिङदेखि खाडीचौरसम्मका स्थानीय बजारमा समेत परेको छ । 

ग्राहक र यात्रुको चहलपहल घटेसँगै होटल, कपडा पसल र भाँडाकुँडा पसलको कारोबार सुस्ताएको छ भने दशैंको मुखमा हुने व्यापारसमेत प्रभावित भएको छ ।

तातोपानी नाका सञ्चालनमा रहँदा यसअघि चिनियाँ सामान खरिद गर्न आउने व्यापारी, चालक, मजदुर तथा यात्रुको चहलपहलले लिपिङ, तातोपानी, बाह्रबिसे हुँदै खाडीचौरसम्मका बजार चलायमान हुने गरेका थिए । तर, दशैंका लागि नयाँ कपडा, घरायसी सामग्री तथा अन्य उपभोग्य वस्तुको बिक्री बढ्ने समय भए पनि नाका बन्द हुँदा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको छ ।

नाका बन्द हुँदा व्यवसाय नै प्रभावित भएपछि भोटेकोशी गाउँपालिकाले नाका सञ्चालनका लागि पहल भइरहेको जनाएको छ । गाउँपालिकाका अनुसार सीमावर्ती क्षेत्रका व्यवसायी तथा स्थानीयको दैनिकीसमेत नाका सञ्चालनसँग जोडिएकाले सम्बन्धित निकायसँग समन्वय गरी नाका खुलाउन आवश्यक पहल भइरहेको छ ।

स्थानीय व्यवसायीका लागि तातोपानी नाका चीनसँगको व्यापारिक प्रवेशद्वार मात्र नभइ रोजगारी र आम्दानीको मुख्य आधारसमेत हो । दशैंको मुखमा नाका लामो समय बन्द रहँदा सीमावर्ती बजार हुँदै खाडीचौरसम्मका व्यवसायमा प्रत्यक्ष असर परेको छ । दशैंमा व्यापार बढ्ने अपेक्षा गरेका व्यवसायी नाका बन्द हुँदा निराश बनेका छन् ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।