अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका राजमार्ग र सडक अवरुद्ध भएका छन् । पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन-रिडी सडक पहिरोले अवरुद्ध भएको छ । यस्तै, कालीगण्डकी करिडोर, आर्यभन्ज्याङ-रामपुर सडक पनि बन्द भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गमा तानसेन-बुटवल खण्डको बर्तुङ र कालीमाटी क्षेत्रमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे र चर्चरेको बीच कालीमाटीमा दुई वटा जीप पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । वर्षा रोकिएपछि उद्दार गरिएको छ ।

यसैगरी अबिरल बर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौं रुटको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण कान्तिलोकपथ र मातातिर्थ चखेल देउराली सडक पनि अबरुद्ध भएको छ । शुक्रबार रातिबाट परेको वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडानम्बर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

यस्तै भीमफेदी गाउँपालिका वडानम्बर ८ प्रताप डाँडामा गएको पहिरोले कान्तिलोकपथ अबरुद्ध भएको छ । इन्द्रसरोवर गाउापालिका वडानम्बर ५ महालक्ष्मीखोला नजिक गएको पहिरोले माता तिर्थ चखेल देउराली सडक अबरुद्ध भएको छ । बाटो सुचारु गर्न डिभिजन सडक कार्यालय हेटौंडा र इन्द्रसरोबर गाउँपालिका र भिमफेदी गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले बताएको छ ।

उता, गएरातिदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको फुदङ्गादेखि नरपानी, सितगंगाकोबसेरीसम्म झन्डै एकदर्जन ठाउँमा पहिरो गएपछि बिहानैदेखि सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध भएको छ । उक्त सडकको दहखोलामा ठूलो पहिरो गएको छ । सदरमुकाम सन्धिखर्कबाट बुटवल, काठमाडौंका लागि छुटेका गाडी बाटामै रोकिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement