रास्वपा महामन्त्री ढकाललाई सोधिएको स्पष्टीकरणमा के छ ?

असार १५, २०८१ |प्रकाश बम
रास्वपा महामन्त्री ढकाललाई सोधिएको स्पष्टीकरणमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद अहिले छताछुल्ल भएको छ । महामन्त्री मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

महामन्त्री ढकालले पार्टी दुर्घटना उन्मुख अवस्थामा रहेको निष्कर्ष सहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभयो । प्रतिवेदनमा पार्टी नीतिगत र संगठनात्मक रूपमा कमजोर रहेको उल्लेख छ । यसै विषयलाई लिएर महामन्त्री ढकालमाथि पार्टीले कारबाही नै गर्न सक्ने आशंकाका बीच ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । 

सभापतिलाई प्रतिवेदन बुझाउनु पहिले नै प्रतिवेदनमा समेटिएका विषय मिडियामा ल्याएको भन्दै अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो । अनुशासन समितिका एक सदस्यका अनुसार महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाउनु पहिले नै सञ्चार माध्यमा ल्याएको र बुझाइसकेपछि सञ्चार माध्यममा किन सार्वजनिक गरेको भन्दै कारणसहित १ हप्ताभित्र जवाफ पेस गर्न निर्देशन गरिएको आयोगका एक सदस्यले जानकारी दिएका छन् । अहिलेसम्म ढकालको प्रतिवेदन भने आयोगले हेर्न पाएको छैन । प्रतिवेदन सार्वजनिक गरिएको पनि छैन ।

पार्टीमा अहिले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने मत बलियो छ । कारबाही गर्दा बाहिर नकारात्मक सन्देश जाने हुनाले जिम्मेवारीविहीन बनाएर यथास्थितिमा राख्नुपर्ने मत पनि पार्टीमा छ ।

महामन्त्री मुकुल ढकालले भने सभापति बाहेक अरूले आफूलाई स्पष्टीकरण सोध्न नमिल्ने बताएका छन् तर अनुशासन आयोगले भने पार्टी विधानको धारा ५५ र ५६ अनुसार सोधिएको बताएको छ । महामन्त्री ढकालले पार्टीका आन्तरिक विषयलाई बाहिर ल्याउनु अनुशासन विपरीत भएको आयोगको ठहर छ । ढकाललाई अनुशासन आयोगका कार्यवाहक प्रमुख यज्ञमणि न्यौपानेको नाममा स्पष्टीकरण सोधिएको बुझिएको छ । 

पार्टी स्रोतका अनुसार सभापति लामिछानेकै निर्देशनमा ढकाललाई स्पष्टीकरण सोधिएको हो । सभापति लामिछानेले उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेलगायका नेताहरूसँग दुई चरणमा छलफल गरेपछि  ढकाललाई स्पष्टीकरण सोध्नका लागि निर्देशन दिएको रास्वपा स्रोतले जनाएको छ ।

महामन्त्री ढकालले सभापतिलाई बुझाउनुअघि नै मिडियामा प्रचारबाजी गर्नु गलत भएको केन्द्रीय सदस्य सन्तोष परियारको भनाइ छ । काठमाडौंमा आज पार्टीको एक कार्यक्रममा परियारले भन्नुभयो, ‘उहाँले प्रतिवेदन बुझाउनु पहिले र प्रतिवेदन बुझाए पछि संचारमाध्यममा प्रचारबाजी गर्नुभयो । त्यो गलत छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले यही विषयमा छलफल गर्नका लागि १९ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीमा अहिले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने मत बलियो छ । त्यस्तै अहिले ढकाललाई कारबाही गर्दा बाहिर नकारात्मक सन्देश जाने हुनाले जिम्मेवारीविहीन बनाएर यथास्थितिमा राख्नुपर्ने मत पनि पार्टीमा छ । पहिलेदेखि नै ढकालसँग असन्तुष्ट नेताहरू महामन्त्रीलाई पदबाट हटाउने सही मौका आएको बुझाइका साथ सभापतिलाई त्यही अनुसारको सल्लाह दिइरहेका छन् ।

यो पनि हेर्नुहोस् :-

सम्बन्धित समाचार...

पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल

महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं : शिशिर खनाल

रास्वपाभित्र बहस : महामन्त्रीको प्रतिवेदन कार्यान्वयन कि महामन्त्रीलाई नै कारबाही ?

रास्वपाका महामन्त्री ढकाललाई पार्टी अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

रास्वपा महामन्त्रीको प्रतिवेदन : समीक्षा कि स्पष्टीकरण ?


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement