बिचौलिया र अनियमितताले ग्रस्त न्यायालयभित्रको बेथिति बार-बेन्च तनावले थप छताछुल्ल

आश्विन १८, २०८१ |सुबिन्द्र श्रेष्ठ
बिचौलिया र अनियमितताले ग्रस्त न्यायालयभित्रको बेथिति बार-बेन्च तनावले थप छताछुल्ल

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च प्रशासनले अवहेलनाको मुद्दा दर्ता गरेसँगै बार र बेन्चबीचको चुलिएको टकराव प्रतिवेदनकर्ता सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले नै मुद्दा फिर्ता गर्ने सार्वजनिक अभिव्यक्तिले केही मत्थर बनाएको छ । 

तर कात्तिक १ गतेलाई पेसीमा चढिसकेको सरकारवादी अदालतको अपहेलना मुद्दा घिमिरेले मुद्दा फिर्ता लिँदैमा सकिँदैन । बेन्चले नै यसको निर्धारण गर्नेछ ।

नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गर्न कति दबाब दिइएको रहेछ अहिले खुलेको छ । सर्वोच्च अदालतका सहप्रवक्तासमेत रहेका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सामाजिक सञ्जालमा राखेको स्टाटसले यसको पटाक्षेप गरेको हो । 

उहाँले अब आफू कसैको प्यादा नबन्ने भन्दै लोकतन्त्रको हिमायती संस्था नेपाल बारका अध्यक्ष विरुद्धमा दिएको मुद्दा फिर्ता लिने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उपरजिष्ट्रार घिमिरेले अदालत खुलेपछि फिर्ताको निवेदन दिने भन्दै ३ सय ६४ दिन आज्ञापालक भए पनि एकदिन स्वविवेक प्रयोग गरेको दाबी गर्नुभएको छ । मुद्दा फिर्ता विधिसम्मत प्रक्रियाले त होला तर अदालत भित्रको राजनीतिका कारण न्यायको धरोहर न्यायालय र बार विवादित भएका छन् ।

बार बेन्चबीचको विवाद टकरावकै स्थितिमा ल्याउनेगरी दर्ता भएको अपहेलना मुद्दा फिर्ताले वार्ता र छलफलबाटै समस्या समाधानको बाटो भने खुलेको छ । बार र बेन्चबीचको टकराव केही मत्थर भएपनि सकिएको भने छैन । यसका लागि न्याय परिषद् नियमावली संशोधनको विषयलाई अबका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कसरी सम्बोधन गर्नुहुन्छ, त्यो मुख्य कुरा हो। 


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।