पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले देश दौडाहापछि पार्टी दुर्घटनाउन्मुख रहेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बुधबार राति गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेलाई महामन्त्री ढकालले प्रतिवेदन बुझाउनुभएको हो । पार्टीको मत बुझ्न ३८ जिल्ला पुगेर तयार पारिएको प्रतिवेदनमा अहिलेकै तरिकाले पार्टी अघि बढे दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख छ ।

पार्टी दुर्घटनामा जाँदै छ भनेर आफूले स्पष्ट देखेको प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग महामन्त्री ढकालले प्रतिक्रिया दिनुभयो । ‘अहिलेको अवस्थामा यही तरिकाले पार्टी अघि बढे दुर्घटना हुने निश्चित छ,’ उहाँले बुधबार राति सञ्चारकर्मीहरुलाई भन्नुभयो, ‘पार्टी पूरै सिकिस्त बिरामी छ । ठूलो सर्जरीको आवश्यक छ ।’

ढकालले प्रतिवेदनमा महाभारतको उदाहरण दिँदै आफूले देखेको वास्तविकता बताउँदा आफ्नो पदै गए पनि पार्टीका लागि त्यो वास्तविकता बताउनुपर्ने आवश्यकता ठानेर प्रतिवेदन तयार गरेको उहाँको भनाइ छ ।

महामन्त्री ढकालले यही अवस्थामा चुनावमा गए रास्वपा मुस्किलले राष्ट्रिय पार्टी बन्ने भएकाले अहिले नै सच्चिनुपर्ने सुझाव दिनुभएको छ । उहाँले अब एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालसँग नभई हर्क साम्पाङ र बालेन्द्र शाहसँग सहकार्य गर्नुपर्नेसमेत सुझाव दिनुभयो ।

आफूलाई आफ्नो पार्टीको माया र चिन्ता रहेको भन्दै महामन्त्री ढकालले आगामी राजनीतिक जीवनका लागि घातक नै भए पनि वास्तविक कुरा बाहिर ल्याएको दाबी गर्नुभयो । सभापति र महामन्त्रीबीच गृह मन्त्रालयमा झन्डै ३ घण्टा वान टु वान छलफल भएको छ । महामन्त्री ढकालले पार्टी दलदलमा फसेको पनि बताउनुभएको छ ।

उहाँले आफूलाई महामन्त्रीबाट हटाउनसक्ने भन्दै पार्टी बचाउनुपर्नेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.