रास्वपा महामन्त्रीको प्रतिवेदन : समीक्षा कि स्पष्टीकरण ?

रास्वपामा महामन्त्रीले पेस गरेको प्रतिवेदन अध्ययन गरेर समीक्षा गर्नुपर्ने आवाज पार्टीभित्रै
असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपा महामन्त्रीको प्रतिवेदन : समीक्षा कि स्पष्टीकरण ?

काठमाडौं । महामन्त्री मुकुल ढकालले देशका ३८ जिल्लाको समीक्षा यात्रापछि पार्टीको जनमत खस्केको र आगामी चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने निष्कर्षसहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तरंग उत्पन्न भएको छ । यो विषयले पार्टीबाहिर पनि चर्चा पाएको छ ।

त्यसमाथि महामन्त्री ढकालले आफ्नै पद र राजनीतिक भविष्यलाई समेत जोखिममा राखेर प्रतिवेदन तयार पारेको बताउनुले रास्वपाभित्र असन्तुष्टि र विवाद कुन हदसम्म चुलिएको छ भन्ने पनि प्रस्ट पार्छ । ढकाललाई अनुशासन आयोगले स्पष्टीकरण नै सोधेको छ । पुराना दलहरुप्रतिको आक्रोश र जनतामा व्याप्त निराशालाई आधार बनाएर स्थापित नयाँ र वैकल्पिक भनिएको दलमा २ वर्षभित्रै किन यस्तो अवस्था आयो त ?

रास्वपा महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र बहस सुरु भएको छ । अहिले रास्वपाभित्र ढकाललाई तत्काल कारबाही गरेर हटाउने वा जिम्मेबारीबाट निलम्बन गरेर मात्र जाने भन्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ । यद्यपि महामन्त्रीले पेस गरेको प्रतिवेदन अध्ययन गरेर गम्भीर समीक्षा गर्नुपर्ने आवाज भने पार्टीभित्र उठिसकेको छ ।

इलाममा भएको उपनिर्वाचनपछि हारको समीक्षा गर्न रास्वपाले महमन्त्री मुकुल ढकाललाई संस्थागत निर्णय गरेर देश दौडाहामा पठाएको थियो । समीक्षा यात्रामा फूलमालासहित महामन्त्री ढकाललाई सभापति लामिछानेले नै बिदाइ गर्नुभएको थियो । पार्टीले निर्णय गरेर पठाएको र स्थानीय रुपमा मतदाता, समर्थक, शुभेच्छु्कलगायत जनतासँग भेटेरै तयार पारिएकाले प्रतिवेदन यथार्थनजिक रहेको बुझ्न सकिन्छ । तर पार्टी सञ्चालन पद्धति र पार्टीभित्र आफूमाथि भइरहेको व्यवहारका कारण महामन्त्री ढकालले प्रतिवेदन बुझाउनुअगाडि नै आफू कोपभाजनमा पर्ने अनुमान गरिसक्नुभएको थियो । यही कारण उहाँले आफूमाथि कारबाही हुन सक्नेसम्मको अभिव्यक्ति दिनुभएको थियो ।

समीक्षा यात्राको प्रतिवेदनमा भएका कुरा र महामन्त्री ढकालले जारी गरेको प्रेस नोटले रास्वपाभित्र त भुइँचालो ल्याएकै छ । यसले रास्वपाबाहिर पनि ठूलो तरंग ल्याएको छ । सभापति लामिछानेकै निर्देशनमा जेठ ६ गते जनमत बुझ्न समीक्षा यात्रामा निस्कनुभएका ढकालले ३८ जिल्लाका पार्टी कार्यकर्ता र सर्वसाधारणसँग दोहोरो संवादपश्चात तयार पारेको प्रतिवेदन लामो छलफलपछि बुधबार सभापतिलाई बुझाउनुभएको हो ।

प्रतिवेदनमा उहाँले पार्टी दुर्घटनाउन्मुख भएको निष्कर्ष निकाल्नुभएको छ । २०७९ मंसिरमा भएको चुनावपछि रास्वपा दुईपटक सरकारमा पुगिसकेको छ । यसबीचमा पार्टीमा आकर्षण बढ्नुको सट्टा घटिरहेको र पार्टी राजनीतिक तथा वैचारिक एजेन्डामा पनि चुक्दै गएको ढकालको निष्कर्ष छ ।

पार्टीलाई गम्भीर रोग लागेकाले शल्यक्रिया नै गर्नुपर्ने अवस्था आएको, यही अवस्था रहे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने, मन्त्री र सांसदहरु पार्टीप्रति जिम्मेवार र जवाफदेही नभएकोलगायत विषय ढकालको प्रतिवेदनमा उल्लेख छ । स्थापनाको छोटो समयमै पार्टीले कमाएको जनमतमा यसरी गिरावट आउनुमा नेताहरुको बोलीलाई समेत ढकालले कारणमा उल्लेख गर्नुभएको छ ।

संगठनमा आएको क्षयीकरण, स्वयं सभापति लामिछाने सहकारी प्रकरणमा मुछिनु, महत्तोरी बैठकबाट व्यक्ति केन्द्रित भएर पदको बाँडफाँट गर्नु र पार्टी मुद्दाकेन्द्रित नभएर सत्तामा मात्रै केन्द्रित भएका कारण अहिलेको अवस्था सिर्जना भएको विश्लेषण हुन थालेको राजनीतिक विश्लेषक पीताम्बर भण्डारीको भनाइ छ ।

रास्वपाको समीक्षालाई राजनीतिक विश्लेषक भण्डारी भन्नुहुन्छ, ‘जुन आरोप सभापतिमाथि लाग्ने गरेका थिए, मन्त्री विशेषलाई लाग्ने गरेको थियो बीचबीचमा सामाजिक सञ्जालमा मन्त्री, सांसद बन्ने वेलामा लेनदेनका कुराहरु आएका थिए । ती सबै कुरालाई महामन्त्रीको प्रतिवेदनले मलजल गर्यो । त्यहाँ त्यस्तो थियो भन्नेलाई बल पुग्यो, त्यहाँ त्यस्तो थियो भन्दा नयाँ दललाई सकाउन गरिएको प्रपञ्ज हो भन्ने भाष्यलाई गलत साबित गर्यो ।’

प्रतिवेदन यथार्थ हो वा सभापतिसँगको तिक्ततापूर्ण सम्बन्धका कारण वा व्यक्तिगत स्वार्थका कारण आएको हो भन्ने कुरा सार्वजनिक भएपछि नै थाहा हुनेछ । तर यो प्रतिवेदनले रास्वपाबाट आश गरेकाहरुलाई भने निराश बनाएको भण्डारीको भनाइ छ । ‘नजिकबाट चिन्नेले जुन वेला सरकारमा जाँदा लेनदेन कुराहरु भए त्यसले विश्वास गुमाएका थिए,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालबाट आउने प्रतिक्रियाको पनि बदलाव आएको र नयाँबाट आश गरेको, चिनेको र नचिनेको दुवै पक्षको आशामा तुषारापात भएको देखिन्छ ।’

रास्वपामा सभापति लामिछानेसँग पार्टीको अस्तित्व जोडिएको र सभापति नै पार्टी हो भन्ने भाष्य निर्माण भएको थियो । तर यो प्रतिवेदनले दलको अस्तित्व एकातिर र पार्टीको अस्तित्व अर्कातिर छ भन्ने भेद छु्ट्याउन खोजेको देखिएको छ ।

प्रतिवेदन बुझेपछि आन्तरिक छलफल गरिरहनुभएका लामिछानेलाई कतिपय नेताहरुले भने ढकाललाई कारबाही गर्नुपर्ने सुझावसमेत दिन थालेका छन् । कतिपयले पार्टीमा आन्तरिक लोकतन्त्रको खोजी महामन्त्रीबाटै सुरु भएको भनेका छन् । यही विषयमा छलफल गर्न रास्वपाले असार १९ गते बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यो बैठकले प्रतिवेदनलाई कुन रुपमा लिन्छ त्यसले नै रास्वापको आगामी भविष्य निर्धारण गर्नेछ ।

यो पनि...

रास्वपाका महामन्त्री ढकाललाई पार्टी अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल

रास्वपाभित्र बहस : महामन्त्रीको प्रतिवेदन कार्यान्वयन कि महामन्त्रीलाई नै कारबाही ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.