हिजबुल्लाविरुद्धको इजरायली आक्रमणबाट लेबनानमा तीन सातामा १४ सयको मृत्यु

११ दिनमै १ सय बालबालिकाले ज्यान गुमाए
१० लाख मानिस विस्थापित
आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिजबुल्लाविरुद्धको इजरायली आक्रमणबाट लेबनानमा तीन सातामा १४ सयको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा मृत्यु हुनेको संख्या तीन सातामै १४ सय पुगेको छ । ११ दिनको अवधिमा कम्तीमा १ सय बालबालिकाको मृत्यु भएको राष्ट्रसंघीय बालकोष-युनिसेफले जनाएको छ ।

आक्रमणबाट ७ हजार ५ सय मानिस घाइते भएका र १० लाख मानिसहरु विस्थापित भएको लेबनानी अधिकारीहरुले जनाएका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगका अनुसार इजरायलको आक्रमणका कारण हालसम्म २ लाख मानिसहरु सिरियातर्फ भागेका छन् ।

सिरियामा युद्धबाट ज्यान जोगाउन लेबनानमा शरणार्थी जीवन बिताइरहेकाहरु पुनः सिरियातर्फ नै भाग्न बाध्य भएका हुन् । इजरायलले बेरुतस्थित हिजबुल्लाहका केन्द्रहरु लक्षित गर्दै हवाई आक्रमण गर्ने क्रम जारी राखेको छ । लेबनानी सहर त्रिपोलीमा भएको आक्रमणमा हमासका वरिष्ठ नेता र उनको परिवार मारिएको हमासले जनाएको छ ।

तर इजरायलले यसको औपचारिक पुष्टि गरेको छैन । यता, इजरायली सेनाले स्थल आक्रमण पनि जारी राखेको छ। त्यसक्रममा आदिसेह सहरनजिक इजरायली सेनासँग भिडन्त भएको हिजबुल्लाह समूहले दाबी गरेको छ ।

यसैबीच, इजरायलले इरानका आणविक केन्द्रमा आक्रमण नगर्ने विषयमा हालसम्म कुनै प्रतिबद्धता नजनाएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले पनि इरानी आणविक कार्यक्रमलाई निशाना बनाइने कुरामा अमेरिकाको समर्थन नरहने बताउनु भएको छ ।

इरानले गरेको मिसाइल आक्रमणको जवाफमा इजरायलले इरानका आणविक केन्द्रहरुमा आक्रमण गर्ने सम्भावना रहेको बताइए पनि हालसम्म अमेरिकाले स्वीकृति दिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement