चितवन शिखरबास स्मृतिविम्ब सार्वजनिक

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवन शिखरबास स्मृतिविम्ब सार्वजनिक

काठमाडौं । वरिष्ठ आख्यानकार डा. ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृति विम्बको विमोचन गर्नुभयो । त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बंगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।

प्रमुख अथिति डा. गौतमले तत्कालीन समयमा चर्चामा नआएको भए पनि उहाँ सृजनाका कारण सँधै जिवित रहिरहने बताउनुभयो । पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरु प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उहाँले बताउनुभयो ।

विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्रा डा. शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताउनुभयो । कवि तथा समीक्षक हरिअधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मान योग्य रहेको बताउनुभयो ।

आज विमोचन गरिएको चितवन शिखरबास स्मृति बिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गर्नुभएको हो । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताउनुभयो । कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मरणहरु सुनाउनुभयो ।

चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र संस्मरण समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिनुभएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उहाँका कथा कविताका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement