युद्धग्रस्त लेबनानमा नेपालीको सुरक्षाका लागि सरकार गम्भीर छ : परराष्ट्रमन्त्री राणा

नेपालीको तथ्यांक संकलन भइरहेको जानकारी
आश्विन १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
युद्धग्रस्त लेबनानमा नेपालीको सुरक्षाका लागि सरकार गम्भीर छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इजरायल र हिजबुल्लाह समूहबीच लेवनानमा युद्ध चर्किरहेको अवस्थामा त्यहाँ रहेका नेपालीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

दुई साता लामो विदेश भ्रमणपछि आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले लेबनानमा रहेका नेपालीको तथ्या‌क संकलन भइरहेको जानकारी दिनुभयो ।

नेपालीको उद्धारका लागि प्रयास भइरहेको तर दोहोरो आक्रमणका कारण परिस्थिति जटिल बनेकाले तत्काललाई 'पर्ख र हेर' को स्थितिमा रहेको मन्त्री राणाको भनाइ थियो । मन्त्री राणाले अझै केही नेपाली दूतावासको सम्पर्कमा नआएकाले नेपालमा रहेका आफन्तलाई समेत उनीहरुको अवस्थाबारे जानकारी दिन र सम्पर्कमा आउन आग्रह गर्नुभयो ।

यसैगरी क्यानडामा भएको महिला विदेशमन्त्रीहरुको बैठकमा राजनीतिमा महिलाको सहभागिता बढ्दो कि घट्दो भन्ने सम्बन्धमा छलफल भएको र आफूले नेपालको अवस्थाबारे जानकारी गराएको मन्त्री राणाले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनमा गम्भीर हुन विश्वसमुदायलाई आग्रह गर्नुका साथै नेपालजस्तो अति कम विकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न कति गाह्रो छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले कतारको दुईदिने भ्रमणमा नेपालमा लगानी भित्राउने सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.