आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौं : माओवादी अध्यक्ष दाहाल

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौं : माओवादी अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने संकल्प लिएको अध्यक्ष दाहालको भनाइ थियो ।

पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले टानको निर्वाचनमा आफ्नो पार्टी पक्षधरले एक्लै जितेपछि कांग्रेस-एमाले लगायतका प्रतिक्रियावादीहरुको सात्तो गएको जिकिर पनि गर्नुभयो ।

अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा जितेर माओवादी केन्द्रले एक्लै निर्वाचन जित्नसक्छ भन्ने सन्देश दिनेगरी त्यसको तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, '२०८४ सालको निर्वाचनमा माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरि एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं ।'

अध्यक्ष दाहालले वर्तमान सरकार जनताको सेवाका लागि नबनेको भन्दै त्यसप्रति जनताले आशा गर्ने ठाउँ नरहेको दोहोर्‍याउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement