पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी बिरामी परेको छ, समयमै अस्पताल लगेर सर्जरी नगरे सकिन्छ : महामन्त्री मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टी दुर्घटनाउन्मुख अवस्थामा पुगेको निष्कर्षसहितको ‘समीक्षा प्रतिवेदन’ सभापति रवि लामिछानेलाई बुझाउनुभएको छ ।

महासचिव ढकालले देशका ३८ जिल्लाको भ्रमण र स्थानीय पार्टी कार्यकर्तासँगको छलफलपछि उक्त प्रतिवेदन तयार पार्नुभएको हो ।

सिंहदरबारमा बुधबार प्रतिवेदन बुझाउने क्रममा ढकालले गृहमन्त्रीसमेत रहनुभएका सभापति लामिछानेसँग करिब तीन घण्टा छलफल गर्नुभएको थियो । प्रतिवेदन बुझाइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री ढकालले पार्टी बिरामी परेको र समयमै अस्पताल लगेर सर्जरी नगरेको अवस्थामा पार्टी सक्किने अवस्थामा पुग्ने दाबी गर्नुभयो । दुर्घटनाउन्मुख अवस्थामा रहेको पार्टी बचाउन केही कठिन निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।

महामन्त्री ढकालले त्यस्तै पार्टीले किन्तु परन्तु केही पनि नभनी प्रदेश संरचना खारेजीको मुद्दा उठाउनुपर्ने पनि बताउनुभयो । साथै उहाँले मन्त्रीहरुले पार्टी सरकारमा जानुको औचित्य पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।

महामन्त्री ढकालले एमाले र माओवादी केन्द्रसँग मिल्नुभन्दा स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपी हमालसँग मिल्दा पार्टीलाई फाइदा हुनेसमेत उल्लेख गर्नुभएको छ । अहिलेको अवस्थामा रास्वपाको पक्षमा जनमत निकै खस्केको र केही कठोर निर्णय लिएर अघि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने निष्कर्ष महामन्त्री ढकालको छ ।

पार्टी दुर्घटनाउन्मुख छ : रास्वपाका महामन्त्रीको प्रतिवेदन

महामन्त्री ढकालले पार्टीको चुनाव चिह्न घण्टीमा कालो बादल मडारिएको कठोर टिप्पणी गर्नुभएको छ । आफ्नो महामन्त्री पदलाई दाउमा राखेर भए पनि आफूले सत्य बोल्ने आँट गरेको र यसको परिणाममा पार्टीले आफूलाई निष्काशनसम्म गर्न सक्नेसमेत महामन्त्री ढकालले उल्लेख गर्नुभएको छ ।

महामन्त्री ढकालले एक विज्ञप्ति जारी गर्दै आफूले बुझाएको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न सभापति लामिछानेसँग आग्रहसमेत गर्नुभएको छ । त्यसो नगरिए आफूमाथि अन्याय हुने कुरा उहाँले उल्लेख गर्नुभएको छ ।

महामन्त्री ढकालले इलामको उपनिर्वाचनपछि ३८ जिल्ला पुगेर स्थानीय, पार्टी कार्यकर्तासँगको छलफलपछि प्रतिवेदन तयार पार्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.