रास्वपाभित्र बहस : महामन्त्रीको प्रतिवेदन कार्यान्वयन कि महामन्त्रीलाई नै कारबाही ?

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
रास्वपाभित्र बहस : महामन्त्रीको प्रतिवेदन कार्यान्वयन कि महामन्त्रीलाई नै कारबाही ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको जनमत खस्केको र आगामी चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न मुस्किल हुने निष्कर्षसहितको प्रतिवेदन सभापतिलाई बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा तरङ्ग पैदा भएको छ । महामन्त्रीले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने वा महामन्त्री ढकाललाई नै कारबाही गर्ने भन्ने बहससमेत पार्टीमा सुरु भएको छ ।

महामन्त्रीको प्रतिवेदनबारे सभापति रवि लामिछानेले आज बिहान दुई चरणमा आन्तरिक छलफल गर्नुभयो ।

सभापतिसँगको छलफलमा सहभागी कतिपय नेताहरूले महामन्त्रीको प्रतिवेदनले पार्टीको यथार्थ अवस्थाको चित्रण गरेको भनेका छन् भने कतिपयले भने पार्टीलाई हानी हुने गरी आत्मघाती प्रतिवेदन पेस गरेको बताएका छन् । प्रतिवेदनमाथि गम्भीर अध्ययन हुने नेताहरूको भनाइ छ ।

देशका ३८ जिल्लाको समीक्षा यात्रापछि महामन्त्री ढकालले बुधबार राति पार्टी दुर्घटना उन्मुख रहेको निष्कर्षसहितको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.