महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं : शिशिर खनाल

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसमक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताउनुभयो । उहाँले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउन नै यात्रामा पठाइएको उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने बताउनुभयो ।

‘स्वभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौं कि भन्ने आवाजहरु हाम्रै पार्टीपंक्तिका साथीहरुले नभनेका कुराचाहिँ होइनन् । महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो,’ खनालले भन्नुभयो, ‘उहाँ स्वेच्छाले भन्दा पनि पार्टीको नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि भनेर पत्ता लगाउन खटाएको हो । उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं । अध्ययनका आधारमा निष्कर्षहरु आइसकेपछि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समीक्षा यात्रा सुरु गरी ३८ जिल्ला पुगेर गरेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement