कर्णालीका जुम्ला, कालिकोट र डोल्पा बासीलाई ५० प्रतिशत सस्तोमा नुन र चिनी

स्थलमार्गबाट ढुवानी हुन थालेपछि सर्वसाधारणलाई सहुलियत
आश्विन १९, २०८१ |जे पाण्डे
कर्णालीका जुम्ला, कालिकोट र डोल्पा बासीलाई ५० प्रतिशत सस्तोमा नुन र चिनी

बाँके । कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पाका बासिन्दाले अघिल्ला वर्षको भन्दा ५० प्रतिशत सस्तोमा नुन-चिनी खान पाउने भएका छन् । साल्ट ट्रेडिङले प्रतिकिलो नुन २६ र चिनी १ सय १० रुपैयाँमा खरिद गर्नसक्ने गरी वितरण व्यवस्था मिलाएको हो । त्यसका लागि भारतबाट २५ सय मेट्रिक टन नुनको पहिलो खेप आइपुगेको छ भने त्यति नै मात्रामा दोस्रो खेप नुन आउँदै छ ।

अघिल्ला वर्षहरुमा हवाइमार्गबाट पठाएको नुन-चिनीका लागिकर्णाली बासी प्रतिकिलो २ सय ५० रुपैयाँभन्दा बढी मूल्य तिर्न बाध्य थिए । तर यो वर्षदेखि स्थलमार्गबाट पठाइँदा भाउ सस्तो पर्ने भएको हो ।

भारतको गुजरातबाट मालवाहक रेलले सीतापुर झारेको नुन त्यहाँ ट्रकमा राखेर नेपालगन्ज ल्याएर दशैं तिहारका लागि कर्णाली प्रदेश पठाउने तयारी भइरहेको छ । नेपालगन्जस्थित साल्ट ट्रेडिङको यो प्याकेजिङ कक्षमा मजदुर महिलाहरु नुन प्याकेजिङ गरिरहेका छन् ।

नुनका पोका बनाउँदै त्यसमा लेबलिङ गरेबापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आउने यी महिला ओभरटाइम काम गरेर दशैं तिहारका लागि अतिरिक्त खर्च जुटाउने ध्याउन्नमा त छन् नै सस्तो मूल्यमा नुन कर्णालीका बासिन्दाको भन्सामा पुगोस् भन्ने चाहना व्यक्त गर्छन् ।

साल्ट ट्रेडिङले यहाँ ल्याएर पुर्‍याइएको ५० हजार मेट्रिक टन नुन र ६० मेट्रिक टन चिनी दशैं तिहारका लागि बाँके, बर्दिया, रोल्पा, रुकुम, सुर्खेतसँगै कर्णाली प्रदेशका हिमाली जिल्लामा पठाउन प्याकेजिङलाई तीव्रता दिएको छ । 

हिमाली जिल्लाका उपभोक्ताले आयो नुन प्रतिकिलो २६ र शक्ति नुन २० रुपैयाँमा किन्न पाउने छन् । भानु ब्रान्डको नुन ९ रुपैयाँ किलो पर्छ, तर बजारमा बिक्री गर्न पाइँदैन । उपभोक्ताले साल्ट ट्रेडिङ र यसका डिलरबाट मात्रै खरिद गर्न सक्छन् । जबकि यति सस्तो नुन जहाजबाट पठाउँदा एक किलोकै भाडा १ सय ३३ रुपैया पर्ने हुँदा भाउ छोइनसक्नु हुन्थ्यो ।

भारतबाट अवैध आयात हुने चिनी नेपालगन्ज लगायतका सीमावर्ती क्षेत्रमा छ्याप्छ्याप्ती पाइने हुनाले साल्ट ट्रेडिङले चिनीको मौज्दात बढाएको छैन । बरु उपलब्ध चिनी र नुन सुलभ मूल्यमा कर्णालीका विकट क्षेत्र पुर्‍याउन जोड दिएको जनाएको छ ।

दशैं तिहारमा नुन चिनीको माग धेरै हुने भए पनि कर्णाली प्रदेशमा भने खपत घट्दै गएको पाइएको छ । हिमाली क्षेत्रमा चीनबाट समेत नुन आउने भएकाले भारतीय नुनको खपत घटदै गएको छ । आर्थिक वर्ष ०७५ /०६७ मा ४३ हजार १ सय ९४ क्विन्टल नुन खतप भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ३७ हजार ८ सय ११ क्विन्टल नुन ढुवानी भएको थियो । चालु आर्थिक वर्षका लागि ३५ हजार क्विन्टल नुन ढुवानी गर्ने कोटा निर्धारण गरिएको छ ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement