भारत भ्रमणको पहिलो दिन : डोभलसँग छलफल, दूतावासमा रात्रिभोज

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
भारत भ्रमणको पहिलो दिन : डोभलसँग छलफल, दूतावासमा रात्रिभोज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो विदेश भ्रमणका क्रममा बुधबार दिउँसो नेपाल एयरलाइन्सको विमानबाट जम्बो टोलीसहित भारत गएका छन् । भ्रमणको पहिलो दिन प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दाहाल बुधबार दिउँसो १:२५ बजे नियमित उडानबाट दिल्ली गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरे ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल करिब ५० जनाको सरकारी टिम र निजी क्षेत्रका ५० भन्दा बढी प्रतिनिधिसहित एक सयभन्दा बढीको टिम लिएर भारत भ्रमणमा गएका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि छन् ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि प्रधानमन्त्री दाहाललाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा विमानस्थलमा पुगेका थिए ।

दाहालको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालको तस्बिर अंकित होडिङ बोर्ड सडकमा राखिएका छन् । विमानस्थलमै प्रधानमन्त्रीको स्वागतका लागि सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । 

विमानस्थलबाट प्रधानमन्त्री दाहाल सरदार पटेल मार्गमा रहेको होटेल आईटीसी मौर्यमा पुगे । प्रधानमन्त्री दाहालले आजैदेखि राजनीतिक भेटवार्ता पनि सुरु गरेका छन् । साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री दाहालसँग भेट गरेका छन् ।  भेटमा विदेश सचिव विनयमोहन क्वात्रा पनि थिए । नेपालका तर्फबाट प्रधानमन्त्रीका साथमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल थिइन् ।

डोभलसँगको कुराकानीपछि प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी बने । त्यहाँ प्रधानमन्त्री दाहालले भारतीय प्रवासी नेपालीहरुलाई सम्बोधन गरे ।

भोलि व्यस्त दिन

भ्रमणको दोस्रो दिन बिहीबार दाहाल व्यस्त हुनेछन् । भ्रमणमा हुने छलफल र सम्झौताहरुको मुख्य दिन भोलि नै हो । बिहान राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ ।

थप समाचार...

प्रधानमन्त्रीको भारत भ्रमण : भोलि व्यस्त दिन
प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि प्रस्थान
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्

भोलि दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् ।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनगढ र साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

तेस्रो दिन अर्थात् पर्सि (शुक्रबार) बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणको अन्तिम दिन शनिबार (जेठ २० गते) प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.