पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्

जेष्ठ १७, २०८० |गणेशमान मुखिया|महाप्रसाद खतिवडा
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्

विराटनगर । पूर्वका उद्योगी व्यवसायीहरुले आयात निर्यातलाई सरल बनाउने र आर्थिक क्षेत्रमा सहयोग हुने किसिमले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । भारतीय लगानी आकर्षित गर्न पनि प्रधानमन्त्री दाहाल केन्द्रित हुनु पर्ने उनीहरूले बताएका छन् ।

पूर्वी नेपालले निकासी गर्ने अलैंची, अदुवा, चिया, तरकारीलगायत वस्तुमा समय-समयमा गुणस्तर परीक्षणलगायत नाममा भारतले अवरोध गर्दै आएको छ । गुणस्तर परीक्षण प्रयोगशाला र प्लान्ट क्वारेन्टाइन चेकपोस्ट पटना र कोलकातामा छ । पटना र कोलकातामा गएर गुणस्तर परीक्षण गरेर वस्तु निकासी गर्दा समय र लागत त बढी लाग्छ नै तरकारी, फलफूललगायत वस्तु बिग्रिएर निर्यात गर्नै नसकिने अवस्था आउँछ । त्यही भएर नेपाली प्रयोगशालाले गुणस्तर प्रमाणीकरण गरेका वस्तुको निर्यात सहजीकरणको व्यवस्था गर्न प्रधानमन्त्री दाहालले भारतीय समकक्षीसँग छलफल चलाउनुपर्ने उद्योगी व्यवसायीले सुझाएका छन् ।

पूर्वी नाका काँकडभिट्टाको ल्याब टेस्टका लागि कोलकाता जाने र आउने/जानेमै धेरै दिन (साता/१० दिन) लाग्ने समस्या रहेको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको भनाइ छ । ‘नेपालकैलाई मान्यता नदिएर भारतले नै आफ्नो ल्याब टेस्ट राख्ने हो भने त्यो नाकामै स्थापना गरिदिए केही सहज हुने देखिन्छ,’ उनले भने ।

५० प्रतिशतभन्दा बढी भ्यालु एडिसन भएका उत्पादनहरुमा जीएसटीलाई पचास प्रतिशत घटाइदिने हो भने नेपाली उत्पादनहरुले बजार सहजै पाउने उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलको बुझाइ छ ।

केही वर्षमै नेपालमा बिजुली बढी हुने भएकाले उक्त बिजुली बंगलादेशमा निर्यात गर्ने सुविधा र भारतलाई बिजुली बेच्ने विषयमा सम्झौता गर्न पनि प्रधानमन्त्री दाहाललाई पूर्वका उद्योगी व्यवसायीले सुझाव दिएका छन् । भारतीय लगानीमा नेपालमा सञ्चालित उद्योग तथा व्यवसायले राम्रो प्रतिफल दिई रहेकाले लगानी आकषिर्त गर्नेतर्फ पनि केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ छ । दुई देशीय व्यापारलाई सहज र सरल बनाउन भन्दै नेपाल र भारत दुवै देशको भन्सार एकै ठाउँमा स्थापना गरी सञ्चालनमा पनि आइसकेको छ । तर उक्त एकीकृत जाँच चौकीसम्म रेल सञ्चालनका लागि संरचना तयार भए पनि रेल सञ्चालन हुन सकेको छैन ।

‘अहिलेसम्म विराटनगर आईसीपीमा रेल आइसकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले भने, ‘यस्तै सेज बनाउने कुरामा हामी पहल गर्न सक्छौं ।’ व्यापार र पारवहन सन्धि पनि नवीकरण गर्ने समय आएकाले यी दुई सन्धिबाट अधिकतम लाभ लिने गरी छलफल गरी आफ्ना कुरा स्पष्ट राख्न आवश्यक छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।

Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।