काठमाडौं । नेपाल-चीनबीचको मुख्य व्यापारिक नाका टिमुरेमा कुनै समय निकै चहलपहल हुन्थ्यो, टिमुरे सुनसान छ ।
जहाँ अहिले राज्यको उपस्थिति जनाइरहेको छ, त्यो हो सशस्त्र प्रहरीको बीओपी । यो बीओपीले राज्यको उपस्थिति मात्र जनाइरहेको छैन, उद्धारकर्ता, सरकारी टोलीदेखि सेना-प्रहरी र बाहिरबाट त्यहाँ पुग्ने सबैका लागि आश्रयस्थलसमेत बनेको छ ।
बाढीले पूरै बस्ती बगाउँदा बगरबाट करिब ७० मिटरको दूरीमा रहेको बीओपी मात्रै जोगिएको छ । अनकन्टार बनेको यो स्थानमा मानिसबाहेक सबैथोक देखिन्छ । बगरमा परिणत भएको यस क्षेत्रमा यत्रतत्र काठ, ग्यास सिलिन्डर तथा विभिन्न सामग्री छरिएका छन् ।
करिब २ सय ५० घर रहेको बस्तीमा अहिले छवटा घर मात्रै छन् तर क्षतविक्षत अवस्थामा । तिनै घरले यहाँ कुनै समय बस्ती थियो भन्ने प्रमाण दिइरहेका छन् । बगरमा अहिले पनि माटोमुनिबाट शव भेटिन्छन् । बैंकका लकरदेखि बाढीले बगाएर ल्याएका विभिन्न सामग्रीसमेत यत्रतत्र भेटिन्छन्।
उजाड बनेको यो क्षेत्रमा भेटिएका ती सामग्रीको सुरक्षा भने त्यही बीओपीमा खटिएको सशस्त्र प्रहरीको टोलीले गरिरहेको छ। बस्तीको नामोनिसान मेटिँदा पनि बीओपी भने पहरेदारझैँ उभिएको छ । बगरबाट करिब ७५ मिटरको दूरीमा मात्रै रहेकाले पानी परेको र मौसम खराब भएको दिन त्यहाँ बस्ने जोकोही पनि त्रासमा रहन्छन् ।
राति सुत्दा समेत छेउमा जुत्ता राखेर सुत्नुपर्ने अवस्था छ । रसुवा नाकाबाट करिब ३ किलोमिटरको दूरीमा रहेको टिमुरेबाट न उँभो जाने बाटो छ, न तल झर्ने सडक नै। अब हेलिकोप्टरमात्रै पुग्न सक्ने अवस्था छ। बाढीपछि नेपाल प्रहरी र सेनाको पोष्ट हटेका छन् ।
राज्यको उपस्थिति जनाउनका लागि भए पनि अहिलेलाई बीओपी यथावत् राखिएको सशस्त्र प्रहरीको भनाइ छ । यो बीओपीमा सशस्त्र प्रहरीको ३४ जनाको टोली छ । त्यस्तै शवको मुचुल्का गर्न जाने नेपाली प्रहरी, सरकारी टोलीदेखि नेपाली सेना र बाहिरबाट त्यहाँ पुग्ने सबैका लागि आश्रयस्थल समेत बनेको छ ।
सम्बन्धित समाचार :