दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागतको तयारी, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)

जेष्ठ १७, २०८० |दीपक आचार्य
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागतको तयारी, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)

नयाँदिल्ली । नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागतका लागि भारतीय पक्षले तयारी पूरा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालको तस्बिर अंकित ठूला-ठूला होडिङ र ब्यानरहरु राखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज (बुधबार) चारदिने भारत भ्रमणमा गएका हुन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधामन्त्री दाहाल भारत भ्रमणमा प्रस्थान गरेका हुन् ।

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन् । भारतमा पनि प्रधानमन्त्री दाहाललाई स्वागतका लागि तयारी गरिएको छ । दाहाल चढ्नका लागि सुविधायुक्त गाडी इन्दिरा गान्धी विमानस्थलमा गाडी तयारी अवस्थामा राखिएको छ । त्यहाँको सुरक्षा संयन्त्रलाई अलर्ट राखिएको छ ।

सडकमा प्रधानमन्त्रीको स्वागतका लागि नाचगान र झाँकी प्रदर्शनको तयारी गरिएको छ । स्वागतका लागि भारतीय रेल्वेमन्त्री विमानस्थल पुगेका छन् ।

प्रधानमन्त्री दाहाल एक सय जनाभन्दा धेरै जम्बो टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका छन् । उनको टोलीमा सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, पाँच मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव, मिडिया प्रतिनिधि टोलीमा सहभागी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दाहाल भारत गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरेका थिए । भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युत्‌मा भारतीय लगानी प्रवर्द्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलनलगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यसअघि २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए ।

थप समाचार...

यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि प्रस्थान
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।