प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि प्रस्थान

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज (बुधबार) चारदिने भारत भ्रमणमा निस्किएका छन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधामन्त्री दाहाल भारत भ्रमणमा प्रस्थान गरेका हुन् ।

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री दाहाल एक सय जनाभन्दा धेरै जम्बो टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका छन् । उनको टोलीमा सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, पाँच मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव, मिडिया प्रतिनिधि टोलीमा सहभागी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दाहाल भारत गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरे । भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल पनि छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युत्‌मा भारतीय लगानी प्रवर्द्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलनलगायत विषयमा छलफल गर्ने कार्यक्रम छ ।

दिल्ली अवतरणपछि प्रधानमन्त्री दाहाल दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटेल आईटीसी मौर्यमा पुग्नेछन् । साँझ ६ बजे होटेलमै आधा घण्टा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट हुनेछ । त्यसअगावै विदेश सचिव विनयमोहन क्वात्राले होटेलमा प्रधानमन्त्री दाहाललाई भेट्ने बताइएको छ ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि (बिहीबार) बिहान ११ बजे हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री बस्नेछन् ।

भ्रमणका क्रममा पुराना सम्झौता र समझदारी कार्यान्वयनसँगै दुई देशबीचका नयाँ मुद्दामा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणमा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका गृहकार्य भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्‌को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उनको भनाइ छ । प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?

मन्त्री साउदले पूर्वाधार निर्माणका केही आयोजना, कृषिजन्य वस्तुको निर्यात, पारवहन तथा सुक्खा बन्दरगाह सम्झौताको पनि तयारी भइरहेको जानकारी दिए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भोलि नै भारतका राष्ट्रपति दौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्नेछन् ।

भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन र इन्दोर जानेछन् । चौथो दिन शनिबार प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् । अपराह्न १ बजे उनी त्यहाँबाट दिल्ली प्रस्थान गर्नेछन् । दिल्लीबाट अपराह्न ४ बजेर २० मिनेटमा उनी नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यसअघि २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि उनले भारतको भ्रमण गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीका रूपमा दाहालले भारतको भ्रमण गरेका थिए ।

पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्

यस्तो छ प्रधानमन्त्री दाहालको भ्रमण तालिका :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.