काठमाडौं । जब नेपाल दक्षिण एसियाली खेलकुद र एसियाडजस्ता ठूला प्रतियोगितामा सहभागी बन्थ्यो– नेपालको आकर्षण तेक्वान्दोतर्फ हुने गर्दथ्यो ।
नहोस् पनि किन, एसियाली खेलकुदमा नेपालले जति पदक जितेको छ त्यसको ठूलो हिस्सा तेक्वान्दोकै छ । नेपालले जितेका तीन रजत पदकमध्ये तेक्वान्दोको नाममा एउटा छ । तर, पछिल्लो समय तेक्वान्दो आफ्नो लयमा छैन् । मेडलको सम्भावित भनिएको यो खेलको पुम्से विधाका खेलाडी एसियाली खेलकुदमा छनोट भएनन् । र, वाइल्डकार्डबाट खेलाडीले एसियाली खेलकुद खेल्ने अवसर भने पाएका छन् ।
तेक्वान्दो कुनै समय नेपाली मार्सलआट्सको लिडर हुने गर्दथ्यो । वर्षमा दुईदेखि तीनवटा घरेलु प्रतियोगिता र अन्य छनोट प्रतियोगिता समेत हुनाले देशभरका विद्यालयहरुमा लाखौंको संख्यामा तेक्वान्दो खेलाडी छन् । तर, दुर्भाग्य २०औं एसियाली खेलकुदमा तेक्वान्दोका एक जना खेलाडी मात्रै छनोट भए र उनी हुन ग्यारोगीका अभिषेक बराल ।
फाइटका बाँकी खेलाडी छनोटमा नै असफल भए भने पुम्सेका कुनै खेलाडी एसियाली खेलकुदमा छनोट हुन सकेनन् । यद्यपि अहिले स्वस्तिका र युवराज रानाले वाइल्डकार्डमार्फत एसियाली खेलकुद खेल्दैछन् । अफगानिस्तानका सायद हसन रेजयीले नेपाली टिमलाई दुई वर्षदेखि अभ्यास गराइ रहेकाका छन् ।
उनको प्रशिक्षणमा अभिषेक उच्च मनोबलका साथ अभ्यास गरिरहेका छन् । उनले एसियाली खेलकुद आफूलाई प्रमाणित गर्ने अवसरका रुपमा रहेको बताएका छन् । त्यसमाथि फाइटमा उनी एक्लो सहभागी भएकाले प्रशिक्षकले सारा ध्यान उनीमाथि लगाएका छन् ।
वाइल्डकार्डबाट २ खेलाडीले एसियन गेम्स खेल्ने भएपछि प्रशिक्षक कविराजले सोचेका छन् कि पुम्सेबाट जसरी पनि पदक जित्नेछ । उनलाई लाग्छ यो – डु र आडाईको समय हो । र, त्यही अनुसार उनले खेलाडीलाई अभ्यास पनि गराएका छन् ।
तेक्वान्दोले पदक नजितेको लामै समय भएकाले पनि प्रशिक्षक कविराजले यसपटक पदक नजिते प्रशिक्षणमा नरहने प्रतिज्ञा समेत गरेका छन् । छनोटबाट ओलम्पिक खेल्न विरलै सम्भव हुने नेपाली खेलाडीका लागि एसियाली खेलकुद नै सबैभन्दा ठूलो प्लाटर्फम हुँदै आएको छ ।
तेक्वान्दोजस्तो लिगेसी बोकेको खेलकुदमा भएको निरन्तर खेलाडी पलायनले यो खेल सहभागितामा मात्रै सीमित हुँदै आएको छ । उत्पादन भएका खेलाडीलाई जोगाउनु तेक्वान्दोको अहिलेको मुख्य चुनौती त हो नै । अझ आउँदो २०औं एसियाली खेलकुदमा पदक जितेर तेक्वान्दोलाई साख जोगाउन चुनौती पनि थपिएको छ ।