प्रधानमन्त्रीको भारत भ्रमण : भोलि व्यस्त दिन

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको भारत भ्रमण : भोलि व्यस्त दिन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चारदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । भारतमा रहँदा प्रधानमन्त्री दाहाल भोलि (बिहीबार) सबैभन्दा बढी व्यस्त हुनेछन् ।

भ्रमणमा हुने छलफल र सम्झौताहरुको मुख्य दिन भोलि नै हो । बिहान राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ ।

प्रतिनिधिमण्डलको बैठक सकिएपछि सम्झौताहरु आदान प्रदानको कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् ।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनगढ र साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

तेस्रो दिन अर्थात् पर्सि (शुक्रबार) बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणको अन्तिम दिन शनिबार प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।

दाहाल करिब ५० जनाको सरकारी टिम र निजी क्षेत्रका ५० भन्दा बढी प्रतिनिधिसहित एक सयभन्दा बढीको जम्बो टिम लिएर भारत भ्रमणमा छन् ।

थप समाचार...

प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि प्रस्थान
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.