भुटानी शरणार्थीको नालीबेली (विशेष सामग्री)

वैशाख ३०, २०८० |रमेश धमला|रमा दाहाल|गणेशमान मुखिया
भुटानी शरणार्थीको नालीबेली (विशेष सामग्री)

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्रीदेखि सचिवसम्मका १२ जना हिरासतमा छन् । 

नेपालमा कहिलेदेखि कति भुटानी शरणार्थी आएका थिए र त्यसको यकिन तथ्याङ्क छ कि छैन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिनै कयौँ व्यक्ति नक्कली भुटानी शरणार्थी बनेर अमेरिका गइसकेको भन्दै सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न थप जटिल बनेको छ ।

३० वर्षभन्दा लामो समयदेखि नेपालको समस्या बन्दै आएको भुटानी शरणार्थी मुद्दा फेरि पेचिलो बनेको छ । सन् १९९० मा भुटानबाट नेपाली भाषी लखेटिएपछि भारत आए । तर भारतले भुटानीलाई ट्रकमा राखेर झापाको मेची पुलमा ल्याएर छाडिदिएपछि शरण खोज्दै उनीहरू नेपाल पसेको इतिहास छ ।

त्यस बेला करिब ८० जना भुटानी नेपाल प्रवेश गरेको भनिए पनि यकिन तथ्याङ्क नेपालसँग थिएन । दातृ निकायहरूसँगको समन्वयमा ५ वटा शिविरमा राखिएका भुटानीको आधिकारिक गणना सन् २००६ र ७ मा मात्रै भयो । जति बेला १ लाख १३ हजार ४ सय २८ जना शरणार्थी गणना भएको युएनएचसीआरको तथ्याङ्क छ ।

सन् २००८, २०१२, २०१५, २०१६ र २०१८ मा छुटेकाहरूको समेत विवरण सङ्कलन गर्दा १ लाख १६ हजार ३ सय ५७ शरणार्थी देखिएका छन् । तर युएनएचसीआरले सन् २००६ बाटै सुरु गरेको नेपालबाट तेस्रो देश पुनर्स्थापनामा १ लाख १३ हजार ३ सय ७ जना अमेरिकासहित विभिन्न ८ देश गएको तथ्याङ्क छ । शरणार्थी शिविर बाहिर गएका, तेस्रो मुलुकले लैजान नचाहेका र आफैँ जान नखोज्नेसमेत गरी ६ हजार ५ सय ७७ जना नेपालमै रहेको आधिकारिक तथ्याङ्क छ । शरणार्थी तेस्रो देश लैजाने कार्यक्रम बन्द भएको ७ वर्ष भइसकेपछि अहिले नक्कली शरणार्थी मुद्दाले समग्र व्यवस्थापन माथि नै प्रश्न उठेको हो ।

अहिले गिरोहको योजनाअनुसार गृह मन्त्रालयकै पदाधिकारीहरूको संलग्नतामा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धान गम्भीर मोडमा पुगेको छ । ४ सय २९ जनालाई नक्कली भुटानी बनाएर पठाउने लागेको विषयमा प्रहरीले अनुसन्धान चलाइरहँदा एमालेका अध्यक्ष केपी शर्मा ओली यसअघिनै ४ सय जना गलत व्यक्ति भइसकेको तथ्याङ्क आफूसँग रहेको भन्दै अभिव्यक्ति दिएका छन् । जसले ओलीलाई सूचना लुकाएर राखेको आरोप लाग्न सक्छ ।

मानवीय सहायताका रूपमा बस्दै आएका भुटानीको व्यवस्थापन नेपालको राष्ट्रिय समस्या हो । उनीहरूको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय संस्थाले साथ दिएर सहज भएको थियो । पुनर्वास कार्यक्रमदेखि नै आशंका गर्नुपर्ने अवस्थाले शरणार्थी मुद्दालाई अप्ठेरो पार्न सक्छ ।

अब नक्कली शरणार्थी मुद्दामा नेपालको कठोर कारबाहीले मात्रै यसमा लागेको दाग मेटिन सक्छ । तर राष्ट्रिय मुद्दामा राजनीतिक रंगले पार्न सक्ने दीर्घकालीन समस्याप्रति भने सचेत हुनै पर्छ ।

थप...

नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
संसद् सचिवालयमा टोपबहादुरको पत्र- बिरामी छु
टोपबहादुर रायमाझी एमाले सचिवबाट निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई ७ दिनका लागि हिरासत
नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्
टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।

Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।