काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ ।
शनिबारका लागि तय भएको बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि आइतबार बसेको हो । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो । शुक्रबारको बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।
त्यसैगरी, बैठकमा भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो। बैठकले राष्ट्रिय एकता कायम गर्न, दलबीच सहकार्य बढाउन र देशभर एकताको वातावरण सृजना गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
यसैगरी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक महाधिवेशनबारे टुंगोमा पुग्न नसकेपछि नेपाली कांग्रेसको आइतबारदेखि बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक असोज २८ का लागि सरेको छ । केन्द्रीय समितिको बैठक असोज २८ गते बस्ने भएको हो ।
त्यसअघि महाधिवेशनबारे छलफल गरेर निष्कर्षमा पुग्न कोशिस गरिने नेताहरूले बताएका छन् ।