नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित

वैशाख २१, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली शरणार्थी प्रकरणमा नेता र उच्चपदस्थ कर्मचारी तानिएपछि राजनीति तरंगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहितका नेता तथा उच्च पदस्थ कर्मचारीसमेत अनुसन्धानमा तानिएपछि राजनीति नै तरंगित भएको छ ।

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई समेत प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री दाहालसँग रायमाझीको विषयमा कुरा गर्न ओली आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । दाहालसँगको भेटपछि बाहिरिने क्रममा ओलीले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने प्रतिक्रिया दिए । तर, पटक-पटक मन्त्री भइसकेका र बहालवाला सांसद रहेका रायमाझीलाई बाटो बाटैबाट समात्नुपर्ने कारण नभएको ओलीको भनाइ छ । उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण गराए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी हिजो (बुधबार) गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भई हिजो नै काठमाडौं हिँडेको बताइएको छ । तर उनी अहिले कहाँ छन् भन्ने पत्ता लागेको छैन । यही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ । अहिलेसम्म आठ जनालाई पक्राउ गरिएको र थप १० जनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा १० देखि ५० लाख रुपैयाँसम्म लिएको भन्दै २० वटा उजुरी परेको छ । गिरोहलाई सघाएको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । थप केही सरकारी अधिकारी र राजनीतिक नेताहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार...

टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी
एमाले अध्यक्ष ओलीले भने- पक्राउ पुर्जी रहस्यमयी, टोपबहादुर आईजीपीसँगको सम्पर्कमा छन्
टोपबहादुर रायमाझी काठमाडौंमा, प्रहरीको उच्च निगरानी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.