काठमाडौं । जेन–जी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालयमै अल्पमतमा देखिनुभएको छ ।
सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा मै माग भएको छ । शुक्रबार बसेको सचिवालय बैठकमा ९ जनाले आफ्नो धारणा राखेकोमा बहुमत सदस्यले पार्टी पुनर्गठन मात्र होइन ओलीको राजीनामा नै माग गरेका हुन् ।
भोलि बस्ने बैठकमा पनि बाँकी अधिकांश सदस्यले राजीनामा माग्ने तयारी गरेपछि ओली दबाबमा पर्नुभएको छ । केन्द्रीय समितिमा समेत ओलीकोले बहुमत गुमाउने जोखिम देखिएको छ । आइतबार बस्ने सचिवालय बैठकमा तीन उप-महासचिव र ६ सचिवले राख्ने धारणाले एमालेको आगामी बाटो तय हुँदैछ ।
सचिवालय बैठकमा शीर्ष नेताहरु कित्ताकाटको अवस्थामा छन् । केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा सूचना तथा सञ्चार प्रविधिमन्त्री बनाएका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ जेन-जी आन्दोलनपछि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिनुभएको छ ।
जबकी गुरुङलाई ओलीले विधान महाधिवेशनमा मात्रै आफ्नो समूहमा भित्र्याउनुभएको थियो । बाँकी दुई उप-महासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल भने ओलीकै नेतृत्वको निरन्तरताको पक्षमा छन् । ज्ञवाली र रिमालले पार्टीमाथि चौतर्फी हमला भएका बेला नेतृत्व परिवर्तन गर्न नहुने मत राख्दै आउनुभएको छ ।
७ सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा हुनुहुन्छ । बाँकी ६ सचिवमध्ये हालसम्म पद्मा अर्याल मात्रै ओलीको पक्षमा हुनुहुन्छ । कान्तिपुर टिभीसँग कुरा गर्दै सचिवहरु योगेश भट्टराई र गोकर्ण विष्टले पार्टी पुनर्गठनको विकल्प नरहेको जिकिर गर्नुभयो । भट्टराई र विष्टले शीर्ष नेताहरुको सम्मानजनक बिदाइ गरी पार्टी पुनर्गठन गरेर चुनावमा जानुपर्ने मत राख्ने तयारी गर्नुभएको छ ।
सचिवहरु लेखराज भट्ट, रघुबीर महासेठ र छबिलाल विश्वकर्मा पनि ओलीको विकल्प खोज्नुपर्ने मत राख्ने तयारीमा हुनुहुन्छ । यसअघि शुक्रबार झन्डै ७ घन्टा बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित ६ जना उपाध्यक्ष र महासचिव शंकर पोखरेलले धारणा राखेका थिए ।
जसमा महासचिव पोखरेल र उपाध्यक्ष गुरु बरालले मात्र ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेल, रामबहादुर थापा र विष्णु पौडेलसहित ५ उपाध्यक्षले पार्टी पुनर्गठनको माग गरेका थिए ।
उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले त लिखित रुपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो । उपाध्यक्ष ज्ञवालीले कान्तिपुर टीभीसँग कुरा गर्दै अध्यक्ष ओलीलाई स्वेच्छिक अवकासको घोषणा गर्न आग्रह गरेको बताउनुभयो ।
शाक्यले भने एमाले चुनावमा जानुको विकल्प नरहेको भन्दै संसद् पूनर्स्थापनाको बहसमा लाग्न नहुने जिकिर गर्नुभयो । बैठकमा सबैले बोलेको ध्यान दिएर सुनिरहेका ओलीले कुनै प्रतिक्रिया दिनुभएको छैन । तर उहाँ सचिवालयमै अल्पमतमा परिसकेको सदस्यहरु बताउँछन् ।
ओलीले बोलाएको सचिवालय बैठक पनि नेताहरुको धारणा बुझ्न र आफू साँच्चिकै अल्पमतमा परेको हो या होइन, त्यसको पुनर्पुष्टीमा लागिरहेको दाबी नेताहरुको छ । यता ओली भने जेन–जी आन्दोलनपछि पनि पार्टी नेतृत्व नछाड्ने र नेताहरुलाई फकाउने प्रयासमा हुनुहुन्छ ।
वर्तमान सरकारको चर्को आलोचना गर्दै आएका ओलीले चुनावमा समेत पार्टीलाई सहभागी नगराउने संकेत दिइसक्नुभएको छ । तर सचिवालयका अधिकांश सदस्य ओलीको विपक्षमा देखिएपछि २९ गतेदेखि हुने केन्द्रीय समिति बैठक सामना गर्न पनि उहाँलाई धौ-धौ पर्ने देखिएको छ ।