नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर

वैशाख ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई ‘राज्यविरुद्धको संगठित अपराध’ संज्ञा दिएको छ । यस प्रकरणमा संलग्नमाथि हदैसम्मको सजायँ हुनुपर्ने एमालेको माग छ । साथै लडाकू शिविर घोटाला प्रकरणलगायत भ्रष्टाचारका सबै काण्डहरुमाथि निष्पक्ष छानविन गर्न एमालेले सवद्ध निकायसँग माग गरेको छ ।

ललितपुरस्थित पार्टीको मुख्यालयमा तीनदिनदेखि आयोजित केन्द्रीय एमाले केन्द्रीय कमिटी बैठकले भ्रष्टाचार प्रकरणबारे निष्पक्ष छानविन गर्न माग गरेको हो ।

एमाले बैठकले पारित गरेको १६ बुँदे समसामयिक प्रस्तावमा शरणार्थी प्रकरणबारे भनिएको छ,‘सोच्नपनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति संगठित रुपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तरराष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।’

एमालेले भनेको छ, ‘यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दबावबिना निष्पक्षरुपमा छानविन गरी दोषीमाथि हदैसम्मको सजायँ होस् भन्ने माग गर्दछ ।’

एमालेले हिरासतमा रहेका व्यक्तिहरुलाई छानविनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैधरुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्वद्ध व्यक्तिको नाम लिन र आफू अनुकूलको वयान गराउन दबाव दिइएको आरोपसमेत लगाएको छ । उसले भनेको छ, ‘दोषी कोही नछुटुन्, निर्दोष कोही नफसुन् ।’

बैठकबाट पारित समसामयिक प्रस्तावमा पार्टीबाट निलम्बित सचिव टोपबहादुर रायमाझीबारे केही बताइएको छैन । स्रोतका अनुसार बैठकमा उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलमाथि केही नेताहरुले प्रश्न उठाएपछि उनले शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए ।

एमाले बैठकले हालै झापा, इलाम, पाँचथर र तेह्रथुममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको सांघातिक आक्रमणको प्रयासलाई निन्दा गर्दै यस्तो हर्कत बन्द गर्नसमेत चेतावनी दिएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक बैशाख २८ देखि शुरु भएर शनिबार सकिएको हो । बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । बैठकले केही संगठनात्मक अभियानसमेत कतय गरेको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार...

एमालेको १६ बुँदे समसामयिक प्रस्ताव (पूर्ण पाठ)

रवि लामिछानेले प्रश्न खडा गर्न सक्छन्, समाधान दिँदैनन् : ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.