जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिनु हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम व्यक्तव्यसहित प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
उहाँलाई समर्थन गर्ने आफ्नै दल जनमत पार्टी सहित नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सांसद छन् ।
मधेस प्रदेशमा नेकपा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीको १/१ जना प्रदेशसभा सदस्य छन् ।